संगालोखबर
धनकुटा बजार । फाइल तस्बिर : संगालोखबर

धनकुटा । धनकुटामा विद्यालय नजिक मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेमा कारबाही गरिने भएको छ । गोकुण्डेश्वर बालमन्दिर विद्यालयका एक विद्यार्थीले गुनासो गरेपछि धनकुटा प्रहरीले निगरानी बढाउँदै बेचविखन नगर्न आग्रह गरेको छ । अटेर गरेमा कानुन अनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय धनकुटामा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेसँगको अन्तरक्रिया कार्यक्रममा विद्यालय परिसर नजिकैका किराना पसल र क्यान्टिनमा खुलेआम सुर्तीजन्य पदार्थ बेचबिखन भएको गुनासो आएको थियो ।

उक्त गुनासोपछि डीआईजी घिमिरेले विद्यालय नजिकै सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्रीवितरणमा रोक लगाउन निर्देशन दिएका थिए । सो पश्चात धनकुटा प्रहरीले माइकिङ गर्दै विद्यालय हाताभित्र अर्थात दुई सय मिटर वरपर सुर्तीजन्य पदार्थ नबेच्न आग्रह गरिरहेको छ ।

‘अन्तरक्रिया कार्यक्रममा विद्यार्थीले गुनासो गरेपछि कार्यान्वयनका लागि हामीले माइकिङ गरेर सचेत गराइरहेका छौँ’, धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले संगालोखबरसँग भने, ‘अटेर गरेको खण्डमा कानुन अनुसार कारबाही हुने पनि चेतावनी पनि दिइरहेका छौँ ।’

साथै विद्यालयमा सञ्चालित क्यान्टिन र नजिकैका पसललाई सचेत गराइएको उल्लेख गर्दै उनले अटेर गरेमा कारबाही गर्ने बताए । उनले बालबालिकाहरूलाई सुर्तीजन्य पदार्थ नबेच्न पनि निर्देशन दिइएको जानकारी दिए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न पाइँदैन । यसलाई प्रभावकारी कार्यान्वयन गरिने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!