संगालोखबर


विराटनगर । ताप्लेजुङबाट बरामद गरिएका बोलेरो गाडी अबैध पुष्टि भएका छन् । कागजात नभएका शंंकास्पद गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अवैध पुष्टि भएको हो ।

ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका ग्रामीण सडकहरूमा अवैध रूपमा चलाइँदै आएका बोलेरो गाडीहरू एक महिनासम्म गरिएको अनुसन्धानपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

नियन्त्रणमा लिइएका गाडी सम्बन्धित आयातकर्ता कम्पनी र दर्ता देखाइएका यातायात व्यवस्था कार्यालयहरूसँग सोधखोज गर्दा मेल नखाएपछि अवैध भएको पुष्टि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

कुनै पनि गाडी विधिवत रूपमा दर्ता भएको नपाइएको कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले बताए । ती गाडीहरूलाई कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार कतिपय गाडीमा इन्जिन नम्बर परिवर्तन गरिएको, कतिपयमा अभिलेख अनुसारको इन्जिन नभएको तथा केही गाडी आयातकर्ता कम्पनीबाटै आयात नभएको पुष्टि भएको छ ।

को १ ज ११११ नम्बरको गाडीमा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर परिवर्तन गरिएको पाइएको छ । यस्तै ना २ च ७२९५ नम्बरको गाडीमा अभिलेख अनुसारको इन्जिन नभएको पाइएको छ ।

ना १ ज १५८३ नम्बरको गाडी यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नदेखिएको र ना ३ च ३९२८ नम्बरको गाडी कम्पनीबाट आयात नै नभएको तथा इन्जिन नम्बर रि-पञ्च गरिएको पाइएको छ ।

ग १ च ६६८४ नम्बरको गाडी आयातकर्ता कम्पनीले आयात नगरेको र यातायात व्यवस्था कार्यालय गण्डकीले विवरण उपलब्ध नगराएको प्रहरीले जनाएको छ ।

गाडीका चालक तथा आफूलाई गाडी मालिक बताउने व्यक्तिहरूले कागजात लिएर आउने बताए पनि हालसम्म सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले एक महिना अगाडि ताप्लेजुङका विभिन्न स्थानबाट ती गाडी नियन्त्रणमा लिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!