विराटनगर । मोरङको लेटाङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सम्मान गरेको छ । लेटाङ-२ फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या घटनामा संलग्न दोषी पक्राउ गर्न सफल भएकोमा नगरपालिकाले मोरङ प्रहरीलाई सम्मान गरेको हो ।

गम्भीर र संवेदनशील प्रकृतिका घटनामा प्रहरीले देखाएको पेसागत क्षमता, धैर्यता र अनुसन्धानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

नगरपालिकाले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहित इन्स्पेक्टर सरोज खनाल, इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह र इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीलाई सम्मान गरेको हो ।

उनीहरूलाई नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावती, उपमेयर कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत शशि राईले सम्मान गरेका थिए । अंशु गौतमको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले खेलेको भूमिकालाई मध्यनजर गर्दै सम्मान गरिएको मेयर लावतीले बताए ।

गत असोज २१ गते घरबाट हराएकी अंशुको शव कार्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी बनभित्र बीभत्स अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले करिब ३ सयसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरेको थियो ।

लामो समयको अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीलाई मंसिर १८ गते पक्राउ गर्न सफल भएको थियो । अधिकारी र गौतम छिमेकी हुन् । अंशुको शव भेटिएपछि पनि घरमै रहेका अधिकारी एक्कासि भारत भागेका थिए । त्यसपछि सूक्ष्म ढंगले अनुसन्धान गरेको प्रहरीले उनले नै हत्या गरेको पुष्टि गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!