
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-९ नहर चोक छेउबाट चार सय ६० किलो गाँजासहित प्रहरीले स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । मंगलबार राति ७ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजासहित स्कारपियो नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गरेको बा ३ च ५५८५ नम्बरको स्कारपियोलाई चेकजाँच गर्न खोज्दा नरोकी भागेको थियो । खोजी गर्ने क्रममा नहर चोकभन्दा एक सय मिटर पछाडि स्कारपियो फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्कारपियो भित्र १६ वटा बोरामा राखिएको अवस्थामा उक्त परिमाण गाँजा फेला परेको डीएसपी खड्काले बताए । स्कारपियो चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाँजासहित बरामद भएको स्कारपियो गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

संगालोखबर 













