
विराटनगर । सुनसरीको इटहरी स्थित प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयको भवन ध्वस्त बनाएको घटनामा संलग्न गिरोहका ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-३ का २९ वर्षीय विजय लिम्बु, भोजपुर याङपाङ घर भइ इटहरी-४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी-४ का २४ वर्षीय सोनम कार्की, इटहरी-५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी-८ का २४ वर्षीय आभाष कार्की रहेका छन् ।
भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो । पक्राउ परेकाहरूविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन सुनसरी अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनासँग सम्बन्धित भिडियो, फोटोलगायतका प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको खड्काले बताए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

संगालोखबर 













