
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० भन्ज्याङबाट गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को १ ज २१७८ नम्बरको यात्रु बाहक पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ का ४८ वर्षीय खड्गबहादुर मङ्ग्राती र सोही स्थानका १७ वर्षीय दुर्गा बिक छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मङ्ग्राती पिकअप चालक हुन भने बिक सह-चालक हुन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा गाडीको पछाडिबाट दुई जना मानिस हामफालेर फरार भएका छन् । प्रहरीले पिकअपबाट ५० किलो गाँजा बरामद गरेको छ ।
पिकअपसहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको र फरार मानिसहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













