
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित सर्दु जलाधार क्षेत्रको खोल्सामा महिलाको शव फेला परेको छ । गत कात्तिक २४ गते बिहान करिब ८ देखि बेपत्ता इटहरी-२ की ३५ वर्षीया मञ्जु पौडेलको शव फेला परेको हो ।
बेपत्ता भएकी मञ्जु घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । सोही क्रममा कात्तिक २७ गते धरान-४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेको थियो ।
त्यसपछि प्रहरीले खोजी कार्य तीब्र पारेको थियो । खोजी गर्ने क्रममा मंगलबार दिउँसो करिब ३ः३० बजे उनको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बहादुर राईले जानकारी दिए ।
‘भेडेटार र धरानको सीमा क्षेत्रको एकदमै अनकन्टार क्षेत्रमा शव फेला परेको छ’, डीएसपी राईले संगालोखबरसँग भने, ‘शंस्कास्पद केही देखिएको छैन । अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि बाँकी कुरा खुल्छ ।’
शव भेटिएको स्थान धरान बजारदेखि करिब १३ किलोमिटर उत्तर-पूर्व तर्फको दुर्गम भू–भाग पर्छ । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

संगालोखबर 













