विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि पठाएको सिलप्याक सिलिन्डरमा तौल कम पाइएको छ । विराटनगर-३ बुद्धचोकका राजेन्द्र खनालले खरिद गरेको चार वटा सिलिन्डरमा १६ किलो तौल कम पाइएको हो ।
खनालले आज दिउँसो रिक्सामा डुलाउनेसँग ग्यास खरिद गरेका थिए । ग्यास कम भएको शङ्का लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए । नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरका निरीक्षक मनिषा राईका अनुसार सिलिन्डरमा ६ किलोसम्म ग्यास कम पाइएको थियो ।
ग्यास कम भेटिएपछि रिक्सामा डुलाएर बिक्री गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर-१ भट्टा चोकका राजकपुर मण्डलका छोरा गोपाल र सोही स्थानका सुशान्त साहलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जोशीको भनाइ छ । उद्योगले भने आफूहरूबाट कुनै बदमासी नभएको र भरी सिलिन्डर नै डिलरमा पठाएको दाबी गरेको छ । उद्योगले डुलाएर बेच्नेले बदमासी गरेको हुनसक्ने प्रतिक्रिया दिएको छ ।