संगालोखबर


विराटनगर । कोशी प्रदेशमा दुई दलीय संयन्त्र निर्माण गरिएको छ । सत्तारुढ नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयन्त्र निर्माण गरिएको हो । दुई दलीय संयन्त्रमा कोशीका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

संयन्त्रमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् । काङ्ग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री तथा पार्टीका प्रदेश संसदीय दलका नेता उद्धव थापा र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई रहेका छन् ।

Advertisement

संयन्त्रको हिजो बसेको बैठकले गरेका निर्णयहरू आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेको छ ।

दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता अनुसार बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट सभापतिले तोकेको एक जना प्रतिनिधि रहने व्यवस्थाअन्तर्गत काङ्ग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्यमा थप गर्ने निर्णय भएको छ ।

प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ताभित्र प्रदेशका १४ वटै जिल्लामा संयन्त्र गठन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी  समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको छ ।

कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीबीच प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आगामी मंसिर १४ गते शुक्रबार विराटनगरमा छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी बैठकले दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरूपताका साथ प्रभावकारी ढङ्गले अगाडि बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरूको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी मंसिर २९ गते शनिबार विराटनगरमा गर्ने निर्णय गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!