धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि बेपत्ता छन् । गुठिखेत घर भएका २७ वर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् ।
परिवार स्रोतका अनुसार दशैं टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरीका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाइ सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’ दाजु रुद्रबहादुरले संगालोखबरसँग भने, ‘खोजतलासका लागि प्रहरीमा पनि निवेदन दिएको छ, प्रहरीले पनि पत्तो लगाउँन सकेको छैन ।’
वैदेशिक रोजगारीका लागि कार्की यसअघि दुबई गएका थिए । एक वर्ष अघि घर फर्किएका उनी त्यसयता गाउँमै बस्दै आएका थिए । अचानक उनी सम्पर्कविहीन भएका हुन् । आफन्त र जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि उनको केही अत्तोपत्तो नलागेको दाजु रुद्रबहादुरले गुनासो गरे । उनको खोजीका लागि परिवारका सदस्यले सबैलाई हारगुहार गरिरहेका छन् ।
प्रहरीले पनि उनको खोजी गरिरहेको छ । तरपनि उनी हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।