विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए । डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने खुल्न बाँकी छ ।’
आगलागीबाट घरमा भएको धान कुट्ने मिलसमेत पूर्ण रूपमा क्षति भएको छ । ९० हजार नगद, डेढ तोला सुन, ४० मन धानलगायत घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको डीएसपी बस्नेतले जानकारी दिए ।
दमक, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाबाट गएको दमकल र स्थानियको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीका विषयमा अनुसन्धान सुरु भएको छ । अनुसन्धान पछि आगलागीको कारण खुल्ने डीएसपी बस्नेतले बताए ।