विराटनगर । आफ्नी साथीको अनिच्छित रूपमा गर्भ बसेपछि मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाकी धनलक्ष्मी पण्डित (नाम परिवर्तित) विराटनगरस्थित कोसी अस्पताल पुगिन् । गोपनीयता अपनाएर सुरक्षित रूपमा साथीको गर्भपतन गराइदिने उनको योजना थियो । तर, जब उनी परामर्शको लागि अस्पतालको परिवार नियोजनसम्बन्धी संस्थागत क्लिनक (एमसिएच) पुगिन्, तब उनलाई साह्रै नमज्जा लाग्यो । पहिला एक्लै गएर सोधपुछ गरेपछि गर्भवतीलाई अस्पताल पुर्याएर गर्भपतन गराउने उद्देश्य बोकेर कोसी अस्पताल आइपुगेकी लक्ष्मी साथीलाई त्यहाँ पुर्याउनु त टाढाको कुरा अस्पतालको अव्यवस्था देखेर उल्टै डराइन् ।
‘गर्भपतन गराउन सूचीकृत र उपकरणहरू उपलब्ध भएकै स्वास्थ्य संस्था पुग्नुपर्छ भन्ने सुनेर यहाँ आएकी थिएँ,’ उनी भन्छिन्, ‘त्यतिमात्र होइन, गर्भपतनको विषयमा गोपनीयता हुनुपर्छ भन्ने लागेको थियो । तर, यहाँ सबै अव्यवस्थित छ ।’
कोसी अस्पतालमा गर्भपतन सेवाका लागि परामर्श लिन जाँदा कर्मचारीहरूले हेर्ने दृष्टिबाट आफू भयभीत भएको उनको गुनासो छ । त्यो बेला उनले आफूलाई सरकारले दिएको सुरक्षित गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिने अधिकारको प्रयोग गर्न पुगेको महिला होइन एक अपराधीजस्तो अनुभूति गरेको बताउँछिन् ।
‘परामर्श लिन जाँदा उहाँहरूले मेरो शरीर तलदेखि माथिसम्म यसरी हेर्नुभयो, म आफैँ डराएँ,’ उनले थपिन्, ‘सेवाग्राहीलाई त्यहाँको कर्मचारीहरूले हेर्ने नजर नै असहज प्रकृतिको रहेछ, अनिच्छित गर्भ लिएर अविवाहित युवती कसरी सेवा लिन आउने ?’
‘फेरि, गर्भपतन गर्न आउनेहरूलाई पनि मेटरनिटी वार्डमै लगिँदो रहेछ । यस्तोमा गोपनीयता भङ्ग हुने डर हुन्छ । कोसी अस्पताल कोशी प्रदेशकै पुरानो ठुलो अस्पताल हो, यस अस्पतालमा उपचार गराउन जोकोही पनि उपचारका लागि आउने भएकाले अविवाहित महिलाले लिन खोजेको सुरक्षित गर्भपतन सेवा र प्रसूति सेवा एकैठाँउमा राखेर दिए पनि गोपनीयता कसरी कायम हुन्छ त ?’ उनको प्रश्न छ ।
अनिश्चित गर्भ रहेको अवस्थामा गर्भपतन गराउन पाउनु महिलाको नैसर्गिक अधिकार हो । गर्भपतन गराउने महिलालाई समाजले देखाउने हेयभाव र लाञ्छानाका कारण महिलाहरू अझैपनि असुरक्षित गर्भपतन गर्न बाध्य रहेको पाइएको छ । समाजको भय त एकातिर छ, अनिश्चत गर्भ रहेको अवस्थामा गर्भपतन गराउन पाउने अधिकार उपलब्ध गराउने स्वास्थ्य संस्थाका कर्मचारीहरूले हेर्ने नजर नै राम्रो नहुँदा असहज महसुस हुने अर्की सेवाग्राही विराटनगरकी इन्दिरा भट्टराई (नाम परिवर्तित) को गुनासो छ ।
‘सरकारी अस्पतालमात्र होइनन्, निजी अस्पतालमा पनि गर्भपतन गराउन जाँदा असहज हुन्छ,’ उनी भन्छिन्, ‘स्वास्थ्य कर्मचारीहरू गर्भपतनलाई हेयभावले हेर्ने समाजभन्दा माथि हुनुपर्ने हो । तर, वास्तवमा अझैसम्म त्यस्तो पाइँदैन । समाज पूर्ण रूपमा शिक्षित छैन, यसैले थोरै भए पनि गोपनीयता राख्दा राम्रो हुन्छ ।’ कोसीमा भने मेटरनिटी वार्डमै गर्भपतन गराउनुपर्ने बाध्यता रहेकाले गोपनीयता भङ्ग हुने डरले निःशुल्क र सुरक्षित ठाउँ छोडेर अन्यत्र जानुपरेको दुखेसो उनको छ ।
कोसीमा छैन गर्भपतनको छुट्टै वार्ड
कोसी प्रदेशकै ठुलो अस्पताल विगत केही वर्षयता नयाँ–नयाँ भवनबाट सञ्चालित छ । अरू ठुला–ठुला भवनहरू पनि बन्नेक्रममा छन् । पुरानो भवन हुँदा अस्पतालमा सुरक्षित गर्भपतन गर्ने बेग्लै वार्ड सञ्चालनमा थियो । जसमा सेवाग्राहीलाई पनि गोप्य रूपमा आफूले सेवा पाइरहेको बोध हुन्थ्यो । तर, अहिले गर्भपतन गर्ने भिन्नै वार्ड छैन, मेटरनिटी वार्डमा सुत्केरी र गर्भपतन गराउनुपर्ने बाध्यता छ । गर्भपतन गराउनेहरू सुत्केरी महिलाका बीचमा बस्नुपर्दा सेवाग्राही र स्वास्थ्य कर्मचारीबीच तालमेल नमिलेको बुझ्न सकिन्छ ।
कोसी अस्पतालकी नर्सिङ इन्चार्ज मञ्जु यादव कर्मचारीले सेवाग्राहीमाथि हेयभावका नजरले हेर्ने भनेर गुनासो आइरहेको बताउँछिन् । तथापि, यो गलत बुझाइ भएकाले यस्तो अवस्था सिर्जना भएको बताउँछिन् । ‘अगाडि पनि कर्मचारीले गर्भपतन गराउनेलाई अनइजी तवरले व्यवहार गर्छन् भन्ने गुनासो आइरहन्थे,’ उनले भनिन्, ‘तर, सबैसँग बुझ्दा सेवाग्राही आफैं असहज फिल गर्ने भएका कारण त्यस्तो भएको पाएँ । म आफैँले एबोर्सन गर्दा पनि मैले सेवाग्राहीलाई अनइजी फिल गरेको पाएकी छु ।’
गर्भपतनका लागि छुट्टै वार्ड नभएका कारण पनि सेवाग्राहीले असहज महसुस गरेको यादवको भनाइ छ । लामो समय बित्दासमेत गर्भपतनका लागि छुट्टै वार्ड बनाउन नसक्नु आफूहरूकै कमजोरी भएको उनको स्वीकारोक्ति छ । ‘पुरानो भवनमा गर्भपतन गराउने छुट्टै वार्ड थियो, तर नयाँ बिल्डिङमा सुत्केरी र गर्भपतन एउटै वार्डबाट गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यसैले पनि सेवाग्राहीमा गोपनीयता भङ्ग हुने डर हुन्छ । अनेक प्रकृतिका केस आउँछन्, त्यसमा गोपनीयता हुनु पनि पर्छ ।’
गोपनीयता फगत भ्रममात्र: चिकित्सक
अनिच्छित गर्भवती बनेका उनीहरू गोपनीयताको डरले तालिमप्राप्त चिकित्सकसँग परामर्श नगरी बाहिर महँगो शुल्क तिरेर आफूखुुसी औषधि सेवन गर्ने गरेका छन् । जसकारण अधिकांशमा तत्कालीनदेखि दीर्घकालीन सम्मका स्वास्थ्य समस्याहरू निम्तिन्छन् । कोही अत्यधिक रक्तास्रावले मृत्युको मुखमा पुग्छन् भने कोही विक्षिप्त अवस्थामा अस्पतालको ढोकासम्म पुग्न सफल हुन्छन् ।
विराट मेडिकल टिचिङ हस्पिटलका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर जीवन धमला भन्छन्, ‘गोपनीयता भङ्ग हुने डरले फार्मेसीकै भरमा हुन्छन्, कतिपय गर्भवती । औषधि सेवनले अत्यधिक रक्तस्राव भएपछि हामीकहाँ आइपुग्छन् । कोही त असुरक्षित रूपमा शल्यक्रियामार्फत गर्भपतन गराएपछि अस्पताल आउँछन्, क्रिटिकल अवस्थामा पनि मैले कतिपयको ज्यान जोगाएको छु ।’
गोपनीयता भङ्ग हुने डरले असुरक्षित गर्भपतन गराउन बाध्य भएँ भन्नु गलत रहेको डा. धमलाको तर्क छ । यौन तथा प्रजनन शिक्षाको अभावमा यस्ता गोपनीयताले मनमा ठाउँ लिएको भए पनि त्यसलाई निर्मुल गर्न सेवाग्राही र स्वास्थ्य कर्मचारीबीच समन्वय हुनुपर्ने उनको सुझाव छ । ‘कर्मचारीको त समन्वय गर्ने काम न हो, परामर्शदाताले परामर्श दिने हो, सेवा उपलब्ध गराउनेले सेवा दिने न हो,’ उनी भन्छन्, ‘जनचेतनाको अभाव हो । त्यै भएर सरकारी अस्पताल जादिनँ, गोपनीयता भङ्ग हुन्छ, सबै रहस्य बाहिरिन्छ भन्ने सोच्न हुँदैन ।’
सुरक्षित गर्भपतनले मातृमृत्युदरमा कमी
नेपालमा गर्भपतनले कानुनी मान्यता पाएपछि नेपालको मातृ मृत्युदरमा उल्लेख्य सुधार आएको छ । सन् १९९५ मा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर पाँच सय ८० रहेकोमा २०१३ मा आइपुग्दा यो घटेर एक सय ९० पुगेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले पाँच वर्षअघि संयुक्त रूपमा गरेको अध्ययनले नेपालमा मातृ मृत्यु दुई सय ३९ जना रहेको थियो । तर, राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनले हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा एक सय ५१ जना आमाको मृत्यु हुने देखाएको छ ।
तथापि, नेपालमा अझै पनि धेरै महिलाहरूले सुरक्षित तथा कानुनी मान्यता प्राप्त गर्भपतन सेवा लिनका लागि विभिन्न किसिमका बाधाहरूको समाना गर्नुपर्ने अवस्था छ । गर्भपतनले कानुनी मान्यता पाएको बारेमा जानकारी नहुनु, सबैको पहुँचमा सेवा उपलब्ध नहुनु, लैङ्गिक विभेदका कारण महिलाहरूले आफैं निर्णय गर्न नसक्नु, गर्भपतनप्रति समाजको धारणा सकारात्मक नहुनाले पनि महिलाहरू लुकेर असुरक्षित गर्भपतन गराउन बाध्य हुने गरेका छन् ।