रबिन कटेल/संगालोखबर

विराटनगर । सीमा क्षेत्रमा तस्करी बढेसँगै यसको प्रभाव राजस्वमा परेका कारण भन्सार कार्यालय विराटनगरले गस्ती सुरु गरेको छ । भन्सार विभागको परिपत्र अनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको हो ।

Advertisement

विराटनगर भन्सारले चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व असुलीको लक्ष्य लिइएकामा दुई अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् लक्ष्यको ८०.९० प्रतिशत सङ्कलन गरेको छ । यसैगरी भदौमा चार अर्ब ७६ करोड ८५ लाख २९ हजार लक्ष्य राखेकोमा तीन अर्ब ११ करोड एक लाख ८० हजार असुली गरेको छ । भदौमा लक्ष्यको ६५.२३ प्रतिशत मात्रै असुली भएको हो । गत आर्थिक वर्ष यी दुई महिनामा लक्ष्यको क्रमशः ९६.५६ र ९३.०१ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

अवैध आयात र राजस्व चुहावट नियन्त्रणमा प्रहरी प्रशासनले असहयोग गरेकाले आफूहरूले गस्ती सुरु गरेको भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले बताए । मिलेमतोमा भन्सार क्षेत्रबाट अवैध आयात फस्टाउँदासमेत सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी मूकदर्शक मात्रै बन्ने गरेको उनको आरोप छ ।

मोरङमा खुला सीमा क्षेत्रबाट अवैध कारोबार फस्टाउनुमा प्रहरी र कारोबारीको मिलेमतो नै प्रमुख कारण बनेको छ । दरैया, मटेर्वा, इस्लामपुर, भेडियारी, भुटाहा, नोचा, डुमरिया, खयरबोना र चोप्राहाबाट रातभर तस्करी हुने गरेको छ । तस्करले सेटिङमा नाका नै भागबन्डा गरेर अवैध आयात गर्दा त्यसको असर भन्सार राजस्वमा परेको भन्दै विभागले स्थानीय प्रशासनसँग समन्वय गरेर गस्ती गर्न निर्देशन दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement