- संगालोखबर सम्बाददाता
फायल तस्बीर

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यवसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यवसायिक खेती गरिरहेका छन् । दस वर्षअघिबाट व्यवसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् । अहिले तीन सय वटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ ।

आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले बताए । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यवसायिक खेती गरिरहेका छन् । ‘फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,’ उनले भने, ‘वर्षमा १२ लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।’
नेपालले अहिले आफ्नो पुर्ख्यौली भूमिमा करिब १७ रोपनी क्षेत्रफलमा ड्रागन फल लगाएका हुन् । ड्रागन फल रातो प्रतिकेजी पाँच सय र सेतो प्रतिकेजी चार सय रूपैयाँमा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी एक सय रूपैयाँमा बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ । ‘मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौं पठाउने गरेको छु,’ नेपालले भने, ‘बजार माग राम्रो छ । तर सडकको कारण बजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।’

नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यवसायिक फलफूल खेती थालेका हुन् । जिल्लामा पहिलो पटक व्यवसायिक रूपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रूपमा परिचित छन् । उनले २२ वर्ष विराटनगरमा बिताएपछि गाउँमा फर्केर व्यवसायिक खेतीमा लागेको सुनाए । व्यवसाय गर्न विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ ।

उनले भने, ‘२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यवसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर खेती गर्दा यहाँका साथीहरूले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!