- संगालोखबर सम्बाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीहरुको निःशुल्क उपचार गराएका छन् । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरु लगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सञ्चालित शिविरमा ५३३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । त्यहाँ १९८ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको हो । त्यस्तै, ११७ जनाको मुटुको जाँच इको गरिएको छ भने दाँतमा समस्या भएर आएका ३२ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार हुन नसक्ने अवस्थाका ९८ जनालाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ । शिविरमा नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, स्त्रीरोग सम्बन्धि डा.प्रतिमा काफ्ले, हाडजोर्नी सम्बन्धि डा.मनोज फुयालसहितको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

यता, सुन्दरहरैंचा वडा नं.११ मा पनि शिविर सञ्चालन गरेर २०३ जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा ६५ जनाको इसीजी, ११० जनाको रक्त परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको छ । शिविरमा उपचार हुन नसकेका ४७ जनालाई नोबेल अस्पताल रेफर गरिएको छ । नोबेलका स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले शिविरमा विरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

दुबै शिविरबाट रेफर भएकाहरुलाई नोबेल अस्पतालकै गाडीमा अस्पताल ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था मिलाइनेछ । डा.शर्माले बर्षौ अघिदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर बिरामीहरुको निःशुल्क उपचार गराइरहेका छन् । समाजसेवाका क्षेत्रमा चर्चित डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिससमेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!