- संगालोखबर सम्बाददाता
फायल तस्बीर

विराटनगर । तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन् । प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा यो पर्व धुमधामका साथ मनाउँने गरिन्छ ।

सन्तानको दीर्घायुका लागि बसिने यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन बस्ने गरिन्छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन गर्ने प्रचलन छ । व्रतका क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने गरिन्छ । खासगरी थारु र मैथिली समुदायको महान चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ ।

Advertisement

सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यता बमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको बताइन्छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।

मुख्यमन्त्री राईले दिए शुभकामना

यसैबीच प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जितिया पर्वको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आइतबार शुभकामना पत्र सार्वजनिक गर्दै प्रदेश नं. १ सहित देश, विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री राईले जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्ने कामना गरेका छन् । उनले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!