- रबिन कटेल/संगालोखबर

धनकुटा । निर्माण कम्पनीको लापरबाहीका कारण धनकुटाको भेडेटार हुँदै पाँचथरको रवि राँकेसम्मको सडक कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रे गर्ने जिम्मा लिएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.को लापरबाहीले कालोपत्रेको काम अलपत्र मात्र भएको छैन, सो सडकमा यात्रा गर्नेहरू बर्षौदेखि सास्ती बेहोर्न वाध्य छन् ।

भारत सरकारमार्फत एक्जिम बैंकको २ करोड ८७ लाख ४२ हजार ५ सय २३ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ३ अर्ब ४४ करोड ऋण सहयोगमा भेडेटारदेखि राँकेसम्मको १०० किलोमिटर सडक कालोपत्रे प्रकृया थालिएको हो । भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेकले २०७८ मंसिरभित्र कालोपत्रेको काम सक्ने गरी २०७५ कात्तिक १५ गते सम्झौता गरेको थियो । तीन वर्षे सम्झौता अवधि सकिएको ८ महिना बितिसकेको छ । यसबीचमा दुई पटक म्याद थपिएको छ । तरपनि अहिलेसम्म सो कम्पनीले १८ प्रतिशत मात्र काम गरेको छ । सडकको केही ठाउँहरूमा गिटी विछ्याउँने, वाल लगाउँने, सडक चौडा गर्ने काम भएको छ । तर अहिलेसम्म काँही पनि कालोपत्रे गर्न थालिएकै छैन ।

सडक कालोपत्रेका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि धनकुटा, पाँचथर, इलाम, सुनसरी र मोरङका संघीय सांसदहरुले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर नयाँ ठेक्का प्रकृया थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । इलामबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग, धनकुटाका सांसद राजेन्द्रकुमार राई, पाँचथरका सांसद बसन्तकुमार नेम्वाङ्ग, सुनसरी १ का सांसद जयकुमार राई र मोरङ १ का सांसद घनश्याम खतिवडाले ठेकेदारलाई कारबाही माग गरेका हुन् । सांसदहरूसहित संविधानसभा सदस्य टिकाराम चेम्जोङ (धनकुटा), डिल्लीराम अधिकारी (मोरङ) र मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्योङले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई मन्त्रालयमै भेटेर सडक कालोपत्रेको प्रकृयामा ‘एक्सन’ लिन सुझाव दिएका हुन् ।

यसअघि भौतिक पूर्वाधार मन्त्रालयको टोलीले पनि सो सडक निरीक्षण गरेर ठेकेदार कम्पनीले काममा वेवास्ता गरेको ठहर गर्दै कारबाहीका लागि पत्राचारसमेत गरेको थियो । काठमाडौंस्थित भारतीय दुतावासलाई पनि त्यसको जानकारी गराइएको थियो । तरपनि कामले गति नलिएपछि अब सोही निर्माण कम्पनीबाट सो सडक निर्माणको काम नहुँने निश्चित भएको धनकुटाका सांसद राजेन्द्रकुमार राई बताउँछन् । ‘सम्झौता अवधि सकिएर दुई–दुई पटक म्याद थपिसक्दा पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । सडक लथालिंग हुँदा जनताले सास्ती पाइरहेका छन्,’ सांसद राई भन्छन्, ‘अब यो कम्पनीबाट काम नहुँने निश्चित भइसकेको छ, त्यसैले यो ठेकेदारलाई कालो सूचीमा राखेर नयाँ ठेक्का प्रकृया अघि बढाउँन मन्त्रीज्यूलाई आग्रह गरेका छौं ।’

चार बर्षसम्म पनि सडक नबन्दा सो क्षेत्रका सर्वसाधरण सास्ती बेहोर्न वाध्य छन् । सडक निर्माण गर्ने क्रममा ठाउँ–ठाउँमा सडक बिग्रिएको र काममा ढिलासुस्ती हुँदा बर्खायाममा सो सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुँने गरेको छ । पहिले सो सडकमा यात्रा सहज भएपनि अहिले कालोपत्रेको काम अघि बढाएर काम पुरा नगरी लथालिंग पारिएकाले यात्रुहरुलाई झन बढी सास्ती भएको संविधान सभा सदस्य टिकाराम चेम्जोङ्ग बताउँछन् । उनी भन्छन्, ‘अहिले भन्दा त बरु पहिले नै ठिक थियो । कालोपत्रेका लागि जताततै बाटो भत्काइएको छ, काम समयमा नहुँदा जनतालाई झन बढी सास्ती भइरहेको छ ।’

अहिले हिलोका कारण सवारी साधन आवतजावतमै कठिनाई छ । ठाउँ–ठाउँमा सडक बिग्रिएकाले सवारी साधन आवतजावत गर्न समस्या भएको चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले बताए । सो सडकमा नियमित जसो यात्रा गर्दै आएका चौविसे–५ बोधेका प्रकाश गिरीले धेरै ठाउँमा बाटो बिग्रिएकाले यात्रा अत्यन्तै कष्टकर हुँने गरेको गुनासो गरे । ‘जताजतै बाटो बिग्रिएको छ, यात्रा गर्न निकै समस्या छ,’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!