- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगरको सिंघिया खोलामा उर्लिएको बाढी अचानक बस्तीमा पस्यो । कोही मान्छे बगे, कसैको घर नै बगायो । सक्नेहरू ज्यान जोगाउँन पौडिन थाले, नसक्नेहरू मुढो झै बगे । घरभित्रका सामान बाढीको पानीमा तैरिए । कोही परिवारका सदस्यलाई बाढीले बगाउँदा रोइकराई गर्न थाले ।

Advertisement

गाउँमा ‘बज्रपात’ पर्यो, बाढीले वितण्डा मच्चाएपछि गाउँलेहरू हारगुहार गर्न थाले । त्यही बेला एक जनाले प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोली दलबलसहित घटनास्थल पुग्यो । स्वास्थ्यकर्मीहरूको प्राथमिक उपचार टोली, नगर प्रहरी र रेडक्रसका स्वयंसेवक पनि परिचालित भए । बाढीले वितण्डा मच्चाएको क्षेत्रमा जनधन जोगाउँन उद्धार टोली दौडधुपका साथ खटियो । डुबानमा परेका गाउँलेलाई उद्धार टोलीले सुरक्षित स्थानमा सार्न थाल्यो ।

अलपत्र परेकाहरूलाई डुङ्गामा राखेर सुरक्षित स्थानमा निकालियो । बाढीमा बगेका धेरै जनालाई पानीबाट बाहिर निकालेर स्ट्रेचरमा राखी प्राथमिक उपचार कक्ष पुर्याइयो । सामान्य अवस्थाकालाई त्यही उपचार गरियो, गम्भीर घाइतेलाई थप उपचारका लागि अस्पताल पठाइयो ।

उद्धारको क्रम चलिरहँदा बाढीले बगाएर मृत्यु भइसकेका गाउँलेको शव पनि फेला पर्यो । शवलाई नेपाल प्रहरीको टोलीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठायो । बाढीले बगाएका सामानहरूलाई पनि पानीबाट निकालियो । बाख्रापाठा लगायत चौपायालाई पनि सुरक्षित स्थानमा सारियो । करिब एक घण्टाको प्रयासपछि उद्धारको काम सकियो । अन्ततः उद्धारको काम सकिएको माइकिङ्ग गरियो ।

झट्ट हेर्दा बाढीजन्य विपद्को झल्को दिने यो घटना वास्तविक नभई विपद्को पूर्व तयारी अभ्यास हो । विराटनगर महानगरपालिका–८ स्थित हाटखोला नजिकको सिंघिया खोलामा शनिवार बिहान यो अभ्यास गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरोकारवाला निकायको सहभागितामा मनसुनी विपद् पूर्व तयारी अभ्यास गरिएको हो । नेपाली सेनाको भैरब गणले पूर्वअभ्यासको आयोजना गरेको हो । वर्षाको सिजन सुरु हुँन थालेकाले अब हुँनसक्ने संभावित बाढी, डुवान जस्ता विपद्जन्य घटनाको उद्धारका लागि पूर्व तयारी अभ्यास गरिएको भैरव गणका गणपति अमृत थापा मगरले बताए । ‘हामीले हरेक बर्ष यस्तो अभ्यास गर्ने गरेका छौं, गणपति मगरले संगालोखबरसँग भने, ‘यसले विपद्का बेला उद्धारको काम गर्न सहज हुन्छ । उद्धारकर्मीहरुलाई अभ्यस्त बनाउँन सहयोग पनि पुग्छ ।’

विपद् पूर्वतयारी अभ्यास हेर्न आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना लगायत पनि पुगेका थिए । सो अवसरमा आयोजित कार्यक्रममा वोल्दै मन्त्री कार्कीले विपद्वाट हुँने क्षति न्यूनिकरण गर्न सरकारी निकाय र जनता सबै लाग्नुपर्ने आवश्यकता औल्याए ।

प्रमुख जिल्ला अधिकारी दाहालले सरकारी निकायले विपद् व्यवस्थापनको तयारी गरिरहेको भएपनि सर्वसाधरण आफै पनि सम्भावित घटनावाट जोगिन सचेत हुँनुपर्नेमा जोड दिए ।

वास्तविक घटनामा पनि यसरीनै उद्धार होस्: स्थानीयबासी

पूर्वतयारी अभ्यास हेर्न स्थानीयबासीको भीड लागेको थियो । बालगोपाल टोलका स्थानीय मोहन थापाले यो अभ्यास हेर्दा अघिल्ला बर्षहरुको बर्खा याममा बाढी गाउँ पसेको झल्को आएको प्रतिक्रिया दिए । काल्पनिक घटनामा मात्र नभई वास्तविक रुपमा वाढी गाउँमा पस्दा पनि यसरीनै छिटोछरितो उद्धारको काम गर्न उनले सुझाव दिए ।

पहिलेको बाढीमा उद्धारको काम सन्तोषजनक नभएको उनले गुनासो गरे । ‘अरुबेला गाउँ बगाईसकेपछि मुचुल्का गर्न मात्र प्रहरी आउँछ, चाडै उद्धार गर्ने व्यवस्था मिलाउँनुपरोे,’ थापाले भने ।

स्थानीय कैलास कामत र राजिदेवी रायले पनि अघिल्ला बर्षहरुमा उद्धारको काम राम्रो नभएको गुनासो गर्दै अब फेरी विपद् आइपर्दा छिटोछरितो उद्धारको काम गर्न सुझाव दिएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!