संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं.२ का नवनिर्वाचित वडा सदस्य अटलबहादुर सुर्जेमगरको मृत्यु भएको छ । चौविसे–२ मुढेवास निवासी ५२ बर्षीय मगरको गएराती मृत्यु भएको हो ।

Advertisement

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी वडा सदस्यमा निर्वाचित भए । बिजयी भएको नतिजा आएको केही समयभित्रै मगरको मृत्यु भएको नेकपा एमाले धनकुटाका कार्यालय सचिव नैन विश्वकर्माले जानकारी दिए ।

राजारानीस्थित मतगणनास्थलमा बसिरहेका बेला राति करिब ८ बजे मगर अचानक बेहोस भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित अस्पताल लगिएको भएपनि त्यहाँ पुर्याउँनासाथ राति करिब ११ बजे उनको मृत्यु भएको हो ।

उनी मधुमेह र उच्च रक्तचापका विरामी थिए । चिकित्सकले हृदयघातका कारण उनको निधन भएको अनुमान गरेका छन् । मृतक मगर यसअघि सोही वडाका वडासदस्य थिए । उनी पुनः सोही पदमा उम्मेद्वार बनेर निर्वाचित भएका हुन् ।

निर्वाचित हुनु अघिनै बेहोस भएका उनको निर्वाचनको नतिजा आएको केही समयपछि मृत्यु भएको हो । उनले आफु निर्वाचित भएको खबर भने सुन्न पाएनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!