तेह्रथुम।  वर्षाका कारण भिरालो जमिन भएको पहाडी जिल्ला तेह्रथुमका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् ।

पछिल्ला वर्षहरुमा अनियन्त्रितरुपमा भइरहेको सडक निर्माणका कारण जिल्लाका दर्जनभन्दा बढी गाउँमा पहिरोको खतरा बढेको हो ।

Advertisement

बुधबार राति परेको भारी वर्षाका कारण पहिरो खस्दा दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । बिहीबार राति पनि जिल्लामा भारी वर्षा भएको छ ।

पहिरोले घर जोखिममा पारेपछि म्याङ्लुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका इन्द्र सुवेदी, मेनुका तामाङ, मोहन गुरुङ, तारा बस्नेत, रामप्रसाद गौतम र भीमबहादुर लिम्बूको परिवार विस्थपित भएको हो ।

पहिरोले घर बगाउने र पुर्ने जोखिम भएपछि उनीहरु घर छाडेर छिमेकमा बसिरहेको सुर्केबजारका रामप्रसाद गौतमले बताउनुभयो ।

गएरातिको वर्षापछि जिल्लाका मोराहाङ, श्रीजुङ, आम्बुङ, आङ्दिम, ओयाक्जुङ, वसन्तपुर, दाँगपालगायत गाउँका विभिन्न ठाउँमा पहिरोले स्थानीयवासीलाई त्रसित बनाएको छ ।

म्याङ्लुङ–वसन्तपुर सडकखण्डको टुक्रे, जिरीखिम्ती, सुर्के, लसुने क्षेत्रका दर्जनौँ ठाउँमा पहिरो खसेको छ ।

विगतमा पहिरोको जोखिममा रहेका पहिचान गरिएका गाउँसहित जथाभावी सडक निर्माण र वर्षाका कारण करिब एक दर्जन बढी गाउँमा पहिरोको जोखिम बढेको हो ।

सडक निर्माणमा स्काभेटरको प्रयोग गर्ने चलन बढेपछि भिरालो जमिन खस्ने, कान्ला खस्नेजस्ता समस्या बढ्दै गएको म्याङ्लुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताउनुभयो ।

“सडक निर्माणसँगै आसपासमा घर बनेँ”, उहाँले भन्नुहुन्छ, “सडक नै पक्का भएका छैनन्, सँगै जोडिएर बनेका घरका जग कसरी बलिया होउन् रु” त्यसैले जिरीखिम्ती बजारको लाक्चुम टोलका करिब १५ घर पहिरोको जोखिममा परेका उहाँले बताउनुभयो ।

जिरीखिम्ती–मोराहाङ सडकखण्डका दर्जन बढी ठाउँमा माथिबाट पहिरो खसेको छ ।

ड्रेन बनिनसकेका सडकमा पहिरो खसेपछि बीच सडकबाटै भल बग्दै किसानका बारीमा पस्ने गरेको छ । त्यही कारण पनि दर्जनौँ ठाउँमा पहिरो गएको मोराहाङका दुर्गाराज लिम्बूले बताउनुभयो ।

म्याङ्लुङ–सक्रान्ति सडकखण्ड र मध्यपहाडी लोकमार्गको सोही खण्डमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेको छ ।

अन्य सय बढीको संख्यामा रहेका निर्माणाधीन ग्रामीण सडकले पनि वर्षासँगै खोल्सीको रुप लिएका छन् । सडकै–सडक भएर भल बग्दै गएर गाउँको बस्तीमा खनिँदा बस्ती नै जोखिममा परेका छन् ।

“सडकमा बग्दै आउँछ, नाली नबनाइएका कारण सडकबाट बगेको पानी गाउँतिर खनिन्छ, अनि गाउँ नै पहिरोको शिकार बन्ने रहेछ”, इवाका नरेन्द्र बानियाँले भन्नुभयो ।

नियन्त्रणका लागि गरिएका प्रयास असफल भएपछि विगतमा जोखिमयुक्त भनिएका गाउँमा समेत थप खतरा बढेको छ । वसन्तपुर र फुलेकमा दशकअघिदेखि वर्षेनी बढ्दै गएर ठूलो आकारका पहिरोले बस्ती तान्ने खतरा बढेको स्थानीयवासीले बताए ।

पहिरोको आकार वर्षेनी बढ्दै जाँदा किसानका खेतीयोग्य जमिनको क्षेत्रफलसमेत घट्दै गएको स्थानीय पदम खड्काले बताउनुभयो । गाउँ पुछारबाट शुरु भएको पहिरो घर छेउ आएपछि फुलेकको चम्फुलाका बासिन्दाको निन्द्रा हराएको छ ।

अझ गाउँ गाउँमा सडक निर्माण गर्ने क्रम बढेपछि पहिरोको जोखिम बढेको उनीहरुको भनाइ छ ।

“पानी पर्नासाथ गाउँलेको घरै बगाउला भन्ने डर छ”, लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र खड्काले भन्नुभयो, “भित्रभित्रै पहिरो पूरै गाउँभरि छिरेको छ ।” गएको पाँच वर्षको अवधिमा पहिरोले ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन, जंगल तथा अलैची बगान बगाएको उहाँले बताउनुभयो ।

रोकथामका लागि गाउँलेले रुखबिरुवा, बाँस तथा मालिंगो रोप्नेदेखि पानी तर्काउनेसम्मको कार्य गरे पनि त्यो प्रभावकारी हुन सकेकोे छैन । पहिरो नियन्त्रणका लागि जिल्ला भू–संरक्षण कार्यालयले पाँच वर्ष लगाएर काम ग¥यो । तर रोकिने छाँटकाँट नदेखेर कार्यालयले काम स्थगित गरेको छ ।

पहिरो ठूलो भएको र कार्यालयमा आउने थोरै बजेटले रोकथामको प्रयास सम्भव नभएको कार्यालयको भनाइ छ । भूमिगत पानी तर्काउन प्रभावित क्षेत्रमा लगाएको पाइप पहिरोले बगाएको छ ।

गाउँ पुछारको मंसेवा खोलाबाट शुरु भएको पहिरो घरछेउ आइपुगेको स्थानीय यामबहादुर गुरुङले बताउनुभयो ।

खाम्लालुङ, ह्वाकु, इवा, आङ्दिम, चुहानडाँडा र दाँगपा गाविसका दर्जनौँ बस्तीसमेत पहिरोको जोखिममा रहेका छन् । “पानी नपर्दा परेन भन्ने हुन्छ, पर्दा पनि गाउँ नै पहिरोले बगाउँला भन्ने डर”, खाम्लालुङका सुमन खापुङले भन्नुभयो ।

खहरे खोला र खोल्सी आसपास तथा नयाँ बाटो खोलिएका गाउँमा पहिरोको त्रास बढी देखिएको खापुङले बताउनुभयो ।

जिल्लास्थित रेडक्रस, दैवी प्रकोप उद्धार समिति र सम्बन्धित क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका अनुसार १५ वटा गाउँमा पहिरोको उच्च जोखिम रहेको छ ।

यद्यपि जथाभावीरुपमा सडक निर्माणको क्रम बढेकाले वर्षाको समयमा पहिरो खस्ने क्रम विगतभन्दा बढी देखिएको ह्वाकुका भीष्म डाँगीले बताउनुभयो ।

बर्षायाममा बग्न सक्ने पहिरो र त्यसबाट हुने क्षतिबारे प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!