
काठमाडौं । काठमाडौं महानगरपालिका–४ विशालनगरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, विशाल मिलन केन्द्र र पावसा बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ८ सय ७५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १५३ जनाको इसीजी, १९२ जनाको रक्त परीक्षण र १९७ जनाको भिडियो एक्सरे गरिएको छ । ३१ जनाको दाँत उखेलिएको छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ४३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।















