गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा गुडिरहेको बसभित्र आज दिउँसो महिला मृत फेला परेकी छन् । भोजपुरबाट धरान जाँदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँपालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृत अवस्थामा भेटिएकी हुन् ।

Advertisement

उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटारबाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्लेखोला नजिक आइपुग्दा बसभित्रै उनी मृत अवस्थामा भेटिएकी हुन् । सिटमा घोप्टो परेको र अचेत अवस्थामा देखेको भन्दै बसका कर्मचारीले प्रहरीलाई खबर गरेर तत्काल जिल्ला अस्पताल ल्याइएको भएपनि डाक्टरले उनलाई मृत घोषित गरे । जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माका अनुसार अस्पताल ल्याउँनु अघि नै उनको मृत्यु भइसकेको थियो । उनको मृत्युको कारण खुलेको छैन ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । आमाको मृत्यु भएपछि बसमा सँगै रहेकी नावालिका छोरीको विचल्ली भएको छ । छोरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा प्रहरीको संरक्षणमा राखिएको छ । आफन्तलाई खबर गरिएको भएपनि साँझसम्म पनि उनका आफन्त आइपुगेका छैनन् ।

जिल्ला अस्पतालमा महिलाको शव । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

घटनापछि सोधपुछ र अनुसन्धानका लागि बस र बसका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, साँझ छोडिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले बताए । ‘बाहिरबाट हेर्दा महिलाको शरिरमा कुनै चोटपटक देखिएको छैन, हामीले बसका यात्रु र कर्मचारीलाई पनि ल्याएर सोधपुछ गर्यौं,’ डिएसपी कार्कीले संगालोखबरसँग भने, ‘घटना त्यस्तो शंकास्पद त देखिदैन । तरपनि अनुसन्धान गर्दैछौ ।’

प्रहरीका अनुसार भोजपुर घर भएपनि उनी श्रीमानसहित धरान बस्दै आएकी थिइन् । उनका श्रीमान चन्द्र श्रेष्ठ धरानमा ज्याला मजदुरी गर्ने गर्छन् । कमलाको माइती पनि भोजपुरनै हो । उनी अरुण गाउँपालिका–५ स्थित माइतीघर गएर धरान फर्कने क्रममा घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!