पत्रपत्रिका खवर

काठमाडौं । चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।

Advertisement

कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको विभागले जनाएको छ ।

छाती तथा मुटु रोग विशेषज्ञ डा. दीर्घसिंह बम स्वस्थ शरीरका लागि दूध तथा दही र दुग्धजन्य वस्तु स्वस्थकर हुनुपर्ने बताउँछन् । उनी कोलिफर्मले मानिसको स्वास्थ्यमा धेरै नराम्रो असर पार्ने बताउँछन् । कोलिफर्मयुक्त दूध तथा दहीको नियमित सेवनले मानिसको स्वास्थ्यलाई दीर्घरोगी बनाउने उनको भनाइ छ । ‘कोलिफर्मले मुख्य गरेर मान्छेको पाचन प्रणालीमा असर पार्छ,’ डा. बलमे भने, ‘झाडापखाला, वाकवाक लाग्ने, पेट दुख्ने, राम्रोसँग दिसा नहुने, कस्टिपेसन हुनेलगायतका पेट सम्बन्धित रोग बढी लाग्छ ।’ उनका अनुसार सामान्य मेहनतमा पनि दुग्धजन्य पदार्थलाई स्वस्थ बनाउन सकिन्छ । ‘दुग्धजन्य पदार्थ बिक्री गर्नेहरूले सफा सुग्घरमा मात्रै ध्यान दिने हो भने कोलिफर्म हुनबाट बच्न सकिन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार, बजारबाट ल्याइएको नमुना परीक्षण गर्दा दही र दूधमा कोलिफर्म भेटिने गरेको छ । विभागले आर्थिक वर्ष २०७८-७९ को प्रथम त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा २७ माथि मुद्दा दायर गरेको छ । दायर गरिएका मुद्दामध्ये दूध तथा दुग्ध पदार्थका नौवटा छन् । यसैगरी, मसला पदार्थका पाँचवटा, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ पाँचवटा, प्रशोधित पिउने पानीका तीनवटा, चियाका दुईवटा छन् । सोयाससको एकवटा, तेलको एकवटा र दानाको एकवटा गरी जम्मा २७ वटा खाद्य पदार्थका रहेका छन् ।

२७ वटा मुद्दामध्ये ११ वटा मुद्दा दूषितका नौवटा मुद्दा न्यून गुणस्तरका ६ वटा मुद्दा लेबललगायतका विवरण नमिलेका, तथा एकवटा मुद्दा खाद्य ऐननियम निर्देशिका उलंघनसम्बन्धी छन् । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर भएको प्रवक्ता महर्जनले जानकारी दिए ।

विभागका अनुसार प्रथम त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा ८ सय ५२ नमुना संकलन भएको थियो । संकलित नमुनामध्ये खाद्यान्न/दलहनजन्यका १ सय ३१ वटा, तेल तथा घ्युजन्यका ९४ वटा, फल तथा सागपात जन्य पदार्थका ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा थिए ।

यसैगरी, चिया कफीका २८ वटा, दूध तथा दुग्ध पदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरीका १६ वटा नमुनाहरूको विश्लेषण परीक्षण भएकोमा ३६ वटा (६.६८%) नमुनाको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको थियो ।

तीमध्ये खाद्यान्नका आठ नमुना, प्रशोधित पिउने पानीका सात नमुना, दूध तथा दुग्ध पदार्थका चार नमुना, दाना पदार्थका चारलगायतका अन्य खाद्यपदार्थका नमुना प्रतिकूल रहेका प्रवक्ता महर्जनले जानकारी दिए । – कौशिला कुँवरले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!