- पत्रपत्रिका खवर

काठमाडौं । चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ ।

Advertisement

नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो । जाङका नुर्ब तामाङले भने, “कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न सिमकोट आएका हौँ ।”

एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत पुग्न सकेको छैन । स्थानीय उत्पादनसमेत कम भएपछि लिमीवासीले चरम खाद्य सङ्कट बेहोरिरहेका छन् । व्यापार कम्पनीले ढुवानी गर्ने खाद्यान्न लिमीमा विरलै पुग्ने गथ्र्यो । लिमीका तीनगाउँ तिल, हल्जी र जाङका बासिन्दाका लागि छदेखि आठ महिना पुग्ने खाद्यान्न यसअघि ताक्लाकोटबाट व्यवस्था हुने गर्थ्यो । यसले गर्दा व्यापार कम्पनीको खाद्यान्नमा स्थानीयवासीको ध्यान जाँदैनथ्यो ।

ताक्लाकोटबाट आयात हुने खाद्यान्न बन्द भएपछि स्थानीयवासी यतिबेला खाद्यान्न अभावले छटपटिएका छन् । गत वर्ष कात्तिकमा चार सय क्विन्टल खाद्यान्न कम्पनीको सिमकोट शाखाबाट लगिएको थियो । त्यसको ढुवानी गाउँपालिकाले दिएको थियो । स्थानीय तामाङका अनुसार त्यसयता खाद्यान्न नपुगेका कारण गाउँमा खाद्य सङ्कट भएको हो । – यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!