पत्रपत्रिका खबर

गोरखा । स्वीट्जल्याण्डकी नागरिक लरिसा जिम्मरम्यानले स्वीट्जल्याण्डदेखि गोरखासम्मको साइकल यात्रा सम्पन्न गरेकी छन्। ‘हाम्रो सहारा’ फाउण्डेशन स्वीट्जल्याण्डकी संस्थापक लरिसाले त्यहाँस्थित ‘हाम्रो सहारा’देखि गोरखास्थित ‘हाम्रो सहारा’सम्मको यात्रा छ महिना लगाएर सम्पन्न गरेकी हुन्।

गत अप्रिल ५ देखि सुरु गरेको साइकलयात्रा शनिबार गोरखास्थित ‘हाम्रो सहारा’ फाउण्डेशनको कार्यालयमा पुगेर सम्पन्न गरेकी हुन्। १२ वटा देशको साइकल यात्रा गरी १० दिनअघि काठमाडौं आइपुगेको र पाँच दिनको क्वारेण्टाइन अवधि पूरा गरी गोरखा आइपुगेको उनले बताइन्।

‘स्वीट्जल्याण्ड, इटली, स्लोभेनिया, क्रोयशिया, मोन्टेनेग्रो, अल्बेनिया, मेसोडोनिया, बुल्गेरिया, टर्की, जर्जिया, उज्बेगिस्तान, किर्गिस्तानसम्म साइकलमै आएको हुँ’, गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘किर्गिस्तानबाट भारत र चीन दुवै देश प्रवेश गर्न प्रतिवन्ध लगाइएकाले काठमाडौँसम्म प्लेनमा आएको हुँ। काठमाडौँबाट गोरखासम्म ग्रामीण रुट हुँदै तीनदिने साइकल यात्रा गरेँ।’

स्वीट्जल्याण्डमा स्थापित हाम्रो सहारा फाउण्डेशनले अनाथ बालबालिकालाई आश्रय दिने उद्देश्यले अर्थ संकलन गर्ने गर्छ। साइकल यात्राको क्रममा जुटेको आर्थिक सहयोग पनि बालबालिकाकै लागि खर्च गर्ने लरिसाले बताइन्। – शिव उप्रेतीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!