काठमाडौं । सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।
सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भएता पनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिसकेको छैन । गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नेछन् ।
सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ । बुधबारसम्म मन्त्रिमण्डल विस्तार हुने बताउँदै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने–‘गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार मन्त्रीमण्डलले अब पूर्णता पाउँछ । – यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।