- पत्रपत्रिका खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार अपराह्न प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलबीच भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन आफू तयार रहेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका प्रतिनिधि मण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले आफूले एमसीसीका विषयमा राजनीतिकस्तरमा सबै दलसँग छलफल जारी राखेको जानकारी दिए ।

सो क्रममा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी छिटो संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरिन् । उनले सो कम्प्याक्टले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको साझेदारका हिसाबले भने एमसीसीमा साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।

एमसीसी अघि बढाउन तयार रहेको प्रधानमन्त्रीको स्पष्टोक्ति

एमसीसीको प्रतिनिधि मण्डलको टोलीले शुक्रबार बिहानै सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थियो भने त्यसअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता भएको थियो ।

सो टोलीले बिहीबार दिउँसो नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको बालोकटस्थित निवासमा पुगेर भेटेको थियो । एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ ।

एमसीसीका विषयमा बिहीबार साँझ बसेको गठबन्धन आबद्ध दलको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सो विषयमा शुक्रबार बिहान र साँझ पनि गठबन्धन आबद्ध दलबीच छलफल भएको थियो ।

राष्ट्रिय सहमतिकै आधारमा एमसीसी पारित– प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढाइने बताएका छन् ।

अध्यक्ष प्रचण्डले एमसीसीबारे नेपालमा विवाद र द्विविधा रहेको उल्लेख गर्दै सर्तहरूमा संशोधन गरेर मात्रै अनुमोदन गर्न सकिने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग शुक्रबार बिहान शिष्टाचार भेटका लागि एमसीसीका उपाध्यक्ष फतिमा सुमार उनको निवास खुमलटार पुगेकी थिइन् ।

अध्यक्ष प्रचण्डले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरू स्पष्ट रहेको बताएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ‘नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसीसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सापकोटाले भने ।

आफूहरूको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने विषयमा छलफल भइरहको उनले बताए । भेटघाटमा उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलबीचमा अन्तत्र्रिmया गर्न आफू नेपाल आएको बताएकी थिइन् । उनले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरूको चाहना रहेको स्पष्ट पारिन् ।

आयोजनाबारे जानकारी दिँदै उपाध्यक्ष सुमारले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताइन् । उनले आफूहरू कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमणका रूपमा लिन आग्रह गरिन् ।

छलफल गरेर निर्णय गरिन्छ–जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच शुक्रबार भेटघाट भएको छ ।

भेटघाटमा उपाध्यक्ष सुमारले एमसीसीबारे जसपाको आधिकारिक धारणाबारे चासो राखेकी थिइन् । सुमारले एमसीसीबारे चासो व्यक्त गरेपछि जसपा नेताले पार्टीमा छलफल गरेर आवश्यक निर्णय गरिने जवाफ दिएका छन् । उनीहरूले एमसीसीबारेमा राष्ट्रिय सहमति आवश्यक पर्ने बताएका थिए ।

चारदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी फातिमाले बिहीबार नै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन् । – आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!