पत्रपत्रिका खबर

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने पहिला टुंगो लगाउन बिहीबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको अन्तरिम आदेशसँगै यस्ता मुद्दाको सुनुवाइ अनिश्चित भएको छ।

Advertisement

संवैधानिक परिषद्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले मंसिर र माघमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको थियो। अध्यादेश ल्याएर गरिएको नियुक्तिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए। अध्यादेश बदनियतपूर्वक ल्याएको भन्दै नियुक्ति खारेजीका लागि अदालतमा परेको रिटमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश स्वयं नियुक्तिमा संलग्न भएकाले उनी संवैधानिक इजलासमा बस्न नमिल्ने रिट निवेदकहरूले जिकिर गरेका थिए। संविधानको धारा १३७ (१) मा संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा हुने व्यवस्था छ।

जबरा बस्दा ‘स्वार्थ बाझिने’, नबस्दा संविधानसम्मत नहुने जटिल परिस्थिति आएको छ। त्यसलाई लिएर अधिवक्ता गणेश रेग्मीले अर्को रिट हालेका छन्, जसमा प्रधानन्यायाधीश बस्नैपर्ने माग गरिएको छ। त्यसको सुनुवाइका क्रममा न्यायाधीश फुयाँलको एकल इजलासले भनेको छ, ‘संवैधानिक इजलासमा प्रधान अनिवार्य उपस्थित हुनुपर्ने हो/होइन ? संवैधानिक इजलासका वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई संवैधानिक इजलास सञ्चालन हुन सक्छ कि सक्दैन ? भन्ने विषयमा निक्र्यौल गर्नुपर्ने देखियो।’

प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशले गर्ने निर्णयका विषयमा कमन ल प्रणालीअन्तर्गत विकास भएका स्वच्छ सुनुवाइका सिद्धान्त र संविधानको धारा २० र १२६ का मान्यताहरू हेरिनुपर्ने आदेशमा उल्लेख छ। धारा २० मा प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालतबाट स्वच्छ सुनुवाइको हक छ। धारा १२६ मा संविधान, कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम न्यायको अधिकार प्रयोग गरिने उल्लेख छ।

‘विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूले सार्वजनिक गर्ने अभिव्यक्ति, बार एसोसिएसनले गर्ने संस्थागत निर्णय तथा कानुन व्यवसायीले गर्ने सार्वजनिक बहसलाई अभिव्यक्ति स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा र विकासका सम्बन्धमा कसरी हेर्ने विषयमा पनि हेर्नु पर्ने देखियो’, आदेशमा भनिएको छ। कस्तो अवस्थामा संवैधानिक इजलासमा रहने प्रधानन्यायाधीश र न्यायाधीशहरू बाहिरिन सक्ने भन्ने प्रसंगलाई स्वच्छ सुनुवाइका सिद्धान्त र मान्यता कुन रूपमा आकर्षित हुन्छन् भन्ने पनि हेरिनु पर्ने देखिएको आदेशमा उल्लेख छ।

रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्राकृतिक न्यायको सिद्धान्तअनुसार प्रधानन्यायाधीश जबरा संवैधानिक इजलास बस्न नहुने माग गरेका थिए। – यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!