काठमाडौं । नेकपा विभाजनसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले आठ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका मुख्य र निर्णायक हिस्सालाई एमालेमा नै समाहित गरी वडादेखि केन्द्रसम्मको महाधिवेशन गर्ने निर्णय गरेका छन् ।
अध्यक्ष ओलीको अध्यक्षतामा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्टीका सबै संरचनालाई २ जेठ २०७५ को अवस्थामा फर्काउँदै जिल्लादेखि केन्द्रसम्मका अधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार एमालेको १०औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुने भएको छ । बैठकसँगै नेपाल समूहमा रहेका शक्तिशाली मानिएका १० जना स्थायी कमिटी सदस्य पनि एमालेमा नै समाहित भएका छन् ।
यद्यपि, एमालेका वरिष्ठ नेता नेपाल अर्का वरिष्ठ नेता झलनाथ खनाललगायतले भने नेकपा एकीकृत समाजवादी नामक नयाँ पार्टी दर्ता प्रक्रिया थालिसकेकाले त्यसको असर एमालेमा पर्ने नेताहरूले जनाएका छन् । ओली पक्षका नेताहरूले पार्टी नफुटेको तर सानो रूपमा चोइटिएको दाबी गरेका छन् । तर, नेपाल पक्षका नेताहरूले भने आफ्नो पार्टीले एमालेलाई चुनौती दिने दाबी गरेका छन् ।
एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले बाटो बिराएर तथा एमालेबाट चोइटिएर अर्को दल खोल्न पुगेकालाई एकतामा आउन आह्वान गरिएको जानकारी दिए । ‘एमालेबाट चोइटिएर जानेहरूले पश्चाताप मान्नुपर्ने भएकाले त्यस्तो अवस्था आउन नदिन उहाहरूले सोचविचार गरी पुनः फर्कनुपर्छ र स्थायी कमिटी बैठकले फर्कन आह्वान गर्ने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले भने । एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचना २०७५ साल जेठ २ गतेअघिकै अवस्थामा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । तर, नेकपा एकताबाट आएका र एमालेमा निरन्तरता दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको हकमा भने जिम्मेवारी यथावत् राखिएको छ ।
बैठकमा यसअघि पार्टी जीवनमा देखापरेको संकट समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले तयार पारेको बुँदे सहमति कार्यान्वयन गर्ने सवालमा देखापर्ने समस्या समाधान गर्न पार्टीका महासचिव ईश्वर पोखरेलसहितको सात सदस्यीय कार्यदल गठन गरेको छ । जसमा पार्टी उपाध्यक्ष भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् । माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले अन्तिम टुंगो लगाउनेछ भने केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन कार्यदलाई जिम्मेवारी दिइएको छ । – राजधानी दैनिकमा समाचार छ ।