संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ देउरालीमा लासा बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीयबासीको पहलमा निर्माण गरिएको गुम्वा शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

Advertisement

प्रदेश नं.१ का न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणी पराजुलीले रिवन काटेर गुम्वा उद्घाटन गरेका छन् । गुम्बा उद्घाटन गर्दै प्रदेश सांसद पराजुलीले जाति, भाषा, धर्म, संस्कार, संस्कृति राज्यको सम्पति भएको बताउँदै समुदायको भाषा, संस्कार संस्कृति संरक्षणमा राज्यले कसैलाई पनि काख र पाखा नगर्ने उल्लेख गरे ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले महालक्ष्मी नगरपालिकाले वडा नं.८ को माथिल्लो भागलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना वनाएर अघि वढिरहेको जानकारी दिए । उनले नगरपालिकाको तर्फबाट गुम्वामा तारवार गर्न ५० हजार र गुम्बाको हल निर्माणका लागि जस्तापाता उपलब्ध गराउँने प्रतिवद्धता पनि जनाएका छन् । त्यस्तै, नेपाल तामाङ घेदुङका संघिय सदस्य लाचन्द्र गोङ्गबाले देउरालीमा स्थानीय तामाङ समुदायको अगुवाईमा गुम्वा बनेको देख्दा खुशी लागेको बताए । सो अवसरमा उनले गुम्वालाई सहयोग स्वरुप ५ हजार नगद प्रदान गरेका छन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, ८ नं.का वडाध्यक्ष रामवहादुर खड्का, ९ नं.का वडाध्यक्ष वोधनाथ काफ्ले, प्रमुख लामा गुरु ज्ञानु लामा, नेपाल तामाङ घेदुङ महालक्ष्मी नगरका सचिव उत्तम पाख्रीन तामाङ लगायतले देराली वजार र आसपास क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नु उपयुक्त हुनेमा जोड दिएका छन् ।

सो गुम्वा २०७१ फागुन २२ गते शिलान्यास भएको थियो । गुम्बा निर्माण गर्ने क्रममा स्थानीय उपभोक्ताहरुको तर्फबाट ३ लाख १९ हजार २ सय, जनश्रमदान ५० हजार, महालक्ष्मी नगरपालिकाबाट ३ लाख ७५ हजार, ८ नं. वडा कार्यालयबाट १ लाख ५० हजार, साविक मुर्तिढुङ्गा गाविसबाट ३० हजार गरी जम्मा प्राप्त भएको ९ लाख २४ हजार २ सय रुपयाँ खर्च भएको बताइएको छ ।

गुम्वा उद्घाटन गर्नुपूर्व वुद्धको तीन वटा मुर्तिलाई देउराली वजारका विभिन्न स्थानमा रहेका शक्तिपिठ, मठ मन्दिर, शिवालय, देवालय लगायतमा घुमाएर लामागुरुहरुले गुम्बामा प्रतिस्थापन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले तामाङ सेलोमा नृत्य प्रस्तुत गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!