- पत्रपत्रिका खबर

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ । २० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, सोही अवधिमा १ लाख ३ हजार २ सय ११ जनामा एन्टिजेन परीक्षण गर्दा १९ हजार ४ सय चार जनामा पोजेटिभ देखिएको छ । भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् ।कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशले जनस्वास्थ्य मापदण्ड उल्लघंन गर्नेहरूलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन । यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे पटकैपिच्छे एक सय रुपैयाँ जरिमाना भनिए पनि नियमनकारी निकायले उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको पाइएको छ ।

यस्तै, देशभर बुधबार २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ जना पीसीआर परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो । देशभर बुधबार १ हजार ३ सय ३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार २ सय ९१ जना संक्रमितको निको भइसकेका छन् । यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप ५ सय ४३ कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा ३ सय ९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना रहेका छन् । देशभरका अस्पतालमा ५ सय ७१ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

भोलि चीनबाट १० लाख मात्रा खोप आउँदै

सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप भोलि शुक्रबार नेपाल आउँदै छ । नेपाल बायुसेवा निगमको फ्लाइट सेडुअलअनुसार आज (बिहीबार) खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख मात्रा खोप प्राप्त भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार भेरोसिल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइने बताए । डा. पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।

यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । खोप कहिले आउने भन्ने ठोस भने भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले २४ असारबाट खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति हुनेछ । सरकारले आगामी पुसभित्र आमनागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने लक्ष्य राखेको छ । – प्रशान्त वलीले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!