- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाका औषधि पसलहरुमा सिटामोल पाउँन छोडेको छ । सामान्यतयाः ज्वरो र दुखाईमा सेवन गरिने सिटामोल अहिले जिल्लाका औषधि पसलहरुमा पाउँन मुस्किल पर्न थालेको हो ।

Advertisement

जिल्ला सदरमुकामका अधिकांश औषधि पसलहरुले सिटामोल किन्न आउँने विरामीहरुलाई सिटामोल नभएको भनेर फर्काउँने गरेका छन् । कतिपयले सिटामोल जस्तै काम गर्ने अन्य औषधि दिने गर्छन् । अहिले धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोनाको औषधि नभएकाले कोरोना लाग्दा देखिने लक्षणका आधारमा विरामीहरुले औषधि खाने गर्छन् । कोरोना संक्रमण हुँदा देखिने मुख्य लक्षण ज्वरो भएकाले यस्तो अवस्थामा सिटामोल खान डाक्टरले सिफारिस गर्ने गरेका छन् । तर, फार्मेसीहरुमा सिटामोल नपाउँदा कोरोना संक्रमितसहित अन्य ज्वरोका विरामीहरु पनि मारमा परेका छन् ।

औषधि किन्नका लागि जिल्ला अस्पताल अगाडि फार्मेसीमा आईपुगेकी स्थानीय सीता दाहालले बजारका अधिकांश औषधि पसलमा खोज्दा पनि सिटामोल नपाएको गुनासो गरिन् । ‘ज्वरो आएर सिटामोल किन्न आएको, यहाँ वरिपरिका कुनै पनि औषधि पसलमा पाइएन,’ उनले भनिन् ।

धनकुटा अस्पताल अगाडिको साझा स्वस्थ्य सेवामा वैशाख ८ गतेदेखि नै सिटामोल सकिएको काउन्टर इन्चार्ज मदन लामिछानेले बताए । ‘१५ सय ट्याब्लेट आएको थियो, चार दिन मै सकियो,’ उनले भने, ‘सिटामोल तलैबाट आएको छैन, कहिले आउँछ पत्तो छैन ।’

यता, सन्तोष मेडिकलमा पनि करिब २० दिन अघिदेखि नै सिटामोल सकिएको मेडिकलका डा.सत्यनारान यादबले बताए । अन्य फार्मेसीमा पनि सिटामोल अभाव छ । धनकुटा जिल्लाभर एक सय भन्दा बढी औषधि पसल छन् ।

अहिले जिल्ला भरकै औषधि पसलहरुमा सिटामोल पाउँन छोडेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई बताउँछन् । ‘जिल्ला भर कै औषधि पसलहरुमा सिटामोलको सटेज छ । सिटामोल किन्न आउँनेहरु त्यसै फर्कनुपरेको पाइरहेका छौं,’ गुरागाई भन्छन्, ‘फार्मेसीहरुले तलबाटै सिटामोल आएको छैन भन्छन्, के कारणले यस्तो भएको पत्तै पाइएको छैन ।’

फार्मेसीहरुमा सिटामोल नभएपनि सरकारी स्वास्थ्य सस्थामा निःशुल्क प्रदान गरिने औषधिमा भने सिटामोल सटेज नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!