संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमण फैलदै गएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ संक्रमितको घर–घरमा पुग्ने र विरामीको हौसला बढाउँने अभियानमा जुटेका छन् । संक्रमितसँग भेटघाट गरी उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र रोगसँग लड्न विरामीलाई हौसला र आत्माबल बढाउँन भन्दै मेयर तामाङले संक्रमितको घर–घरमा पुग्ने अभियान चलाएका हुन् ।

Advertisement

सोमबारबाट संक्रमितसँग भेटघाट गर्न सुरु गरेका मेयर तामाङले यो अभियानलाई निरन्तरता दिइरहेका छन् । हालसम्म नगरक्षेत्रका करिब ८० जना संक्रमितको घरमा पुगेर भेटघाट गरेको मेयर तामाङले बताए । ‘अहिलेसम्म ८० जना हाराहारी संक्रमितको घरमा पुगेर तपाईहरुलाई केही गाह्रो साह्रो परेमा हामी छौं भनेर ढाडस दिएका छौं । यसरी नै नगरक्षेत्रका सबै संक्रिय संक्रमितकोमा पुग्छौं,’ मेयर तामाङले संगालोखबरसँग भने ।

मेयर तामाङले धनकुटा बजार, हिले, कागते, निगाले, कर्मीटार, आत्मारा लगायत क्षेत्रका संक्रमितसँग भेट गरिसकेका छन् । वाँकी ठाउँमा क्रमशः पुग्ने र पुगिसकेका क्षेत्रमा नयाँ संक्रमित थपिएमा पुनः भेट्न जाँने उनको योजना छ । उनले संक्रमित भेट्नका लागि नगरका स्वास्थ्यकर्मी र नगर प्रहरीलाई लिएर जाँने गरेका छन् ।

हरेक संक्रमितकोमा पुगेर उनीहरुलाई डावर च्यावनप्रास, हर्लिक्स, मास्क र सावुन लगायत सामान पनि प्रदान गर्ने गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, रोगसँग लड्न हौसला दिने र स्वास्थ्य सावधानी अपनाउँने तरिका बताउँने गरिएको मेयरसँगै संक्रमित भेट्न पुग्ने गरेका नगरको स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले बताए ।

धनकुटा नगरको तथ्यांक अनुसार शनिवारसम्म नगरक्षेत्रका १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५६ जना निको भएका छन् । वाँकी १३९ जना सक्रिय संक्रमित छन् । उनीहरु अधिकांश होम आइसोलेशनमा बसेका छन् । नगर क्षेत्रमा अहिले रहेका सक्रिय संक्रमित र नयाँ थपिने सबै संक्रमितलाई भेट्ने नगर प्रमुख तामाङको योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!