धनकुटा । कोरोना संक्रमितको आत्मावल बढाउँनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुग्न थालेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर उनीहरुलाई स्वास्थ्य परामर्श दिदैं रोगसँग लड्ने आत्मावल बढाउँनका लागि जनप्रतिनिधिहरु संक्रमितहरुको घर–घर पुग्न थालेका हुन् । उनीहरुले संक्रमितसँग भौतिक दुरी कायम गरी भेट गरेर खानेकुरा र स्वास्थ्य सामाग्री पनि दिने गरेका छन् ।
कोरोना संक्रमण बढ्दै जाँदा धेरै संक्रमितहरु घर–घरमै ‘होम आइशोलेशन’ बसिरहेकाले संक्रमितहरुको घरमा पुग्ने र उनीहरुलाई रोगसँग लड्ने हौसला प्रदान गर्ने अभियान चलाइएको महालक्ष्मी नगरपालिकाका मेयर नेपालले बताए । ‘अहिले अधिकांश कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्नु भएको छ । उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा स्वयंसँग सोधपुछ गर्ने, सावधानी अपनाउँनुपर्ने कुरा स्वास्थ्यकर्मीहरुमार्फत बताउँन लगाउँने र उहाँहरुलाई औषधि, स्वास्थ्य सामाग्रीसहित केही खानेकुरा पनि दिने गरेका छौं,’ मेयर नेपालले भने, ‘यसले गर्दा संक्रमितहरुमा निरासा कम भई हौसला र रोगसँग लड्ने आत्मावल बढ्छ भन्ने ठानेर यो अभियान चलाएका हौं ।’
संक्रमितहरुलाई भेट्नका लागि मेयर नेपाल, उपमेयर अधिकारी, स्वास्थ्य शाखा प्रमुख पर्शुराम थापा, जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठ र मेयरका सचिवालय प्रमुख विष्णु दाहाल गाउँ–गाउँ खटिएका छन् । उनीहरुले हरेक संक्रमितका घरमा पुगेर उनीहरुलाई डावर च्यवनप्राश, हर्लिक्स, सेनिटाइजर, केही थान मास्क र आवश्यक औषधि प्रदान गर्ने गरेका छन् ।
हरेक संक्रमितको घर–घरमा पुगेर भौतिक दुरी कायम गरी संक्रमितहरुसँग कुराकानी गर्ने र सामाग्री प्रदान गर्ने गरिएको उपमेयर मञ्जु अधिकारीले जानकारी दिइन् । महालक्ष्मी नगरको केन्द्र जितपुरबाट यो अभियान थालिएको छ । अब, संक्रमित भएका सबै वडामा पुगेर उनीहरुसँग भेटघाट गरी सामाग्री प्रदान गर्ने बताइएको छ । हाल महालक्ष्मीमा ३३ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि महालक्ष्मी नगरले बिभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । महालक्ष्मी नगरका हरेक नागरिकका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँने उद्धेश्यले होमियोप्याथिक औषधि पनि निःशुल्क वितरण भइरहेको छ । त्यस्तै, संक्रमितका लागि जितपुरमा अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाइएको छ । संक्रमितलाई अस्पताल पुयाउँनका लागि एम्बुलेन्सको निःशुल्क व्यवस्था पनि मिलाइएको छ । नगरबासीमा कोरोना संक्रमण पुष्टि भई गंम्भीर अवस्था भएर आइसोलेशनमा उपचार गराउँनु परेमा २५ हजारका दरले आर्थिक सहयोग पनि उपलब्ध गराइदै आएको मेयर नेपालले जानकारी दिए ।