गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले बिहिबारबाट गाउँपालिका क्षेत्रभित्र एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकाको स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जेठ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

Advertisement

यसअघि जिल्ला प्रशासन कार्यालयले पनि धनकुटा जिल्लाभर लागु हुँने गरी बैशाख ३१ गते राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि त्यसको जोखिमलाई नियन्त्रण तथा रोकथामको अभियानलाई प्रभावकारी बनाउँन स्थानीय सरकारको तर्फबाट पनि निषेधाज्ञा जारी गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । गाउँपालिकाले निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सवारी साधन तथा मानिसहरु आवत–जावत गर्न निषेध गरेको छ । त्यस्तै हाट बजार र पसलहरु पनि सञ्चालन गर्न पाइने छैन । औषधि पसल भने खुल्ला रहनेछन् ।

बैंक तथा बित्तिय संस्थाहरु आइतबार र बुधबार मात्र खोल्न पाइनेछ । निर्माण आयोजनामा मजदुरहरु निर्माणस्थलमै बसेर काम गर्ने बाहेक अन्य सबै किसिमका निर्माण कार्य बन्द गरिनेछ । गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि साम्बुगाउँ स्वास्थ्य चौकी पनि निषेधाज्ञा अवधिभर बन्द गरिने भएको छ । गाउँपालिकाको स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले निषेधाज्ञा सम्बन्धि सूचना जारी गरेका छन् ।

सहिदभूमिका २१ जनाको पीसीआर परीक्षण गर्दा बुधबार साँझ १९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित सबै सहिदभूमि २ नं. वडाका हुन् । संक्रमण अत्याधिक देखिएपछि गाउँपालिकाले स्थानीय स्तरबाट निषेधाज्ञा जारी गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!