धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी पेटबाट बच्चा निकालिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया गरिएको हैन । तर, शल्यक्रिया अघि नै पीसीआर परीक्षणका लागि पठाइएको स्वाबकोे रिपोर्ट शल्यक्रियापछि पोजिटिभ आएको हो ।
महालक्ष्मी नगरपालिका–१ घर भएकी २२ बर्षीय गर्भवती महिलालाई सुत्केरी गराउँनका लागि गत बिहिबार जिल्ला अस्पताल ल्याइएको थियो । सोही दिन स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइयो । उनलाई शुक्रबारबाट सुत्केरी वेथा लाग्न थाल्यो । तर, स्वभाविक रुपमा बच्चा जन्मने नदेखिएपछि डाक्टरले शनिवार पेट चिरेर बच्चा निकाले ।
अप्रेशन गरेर बच्चा निकालिसकेपछि उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका डा.पुजन विश्वकर्माले जानकारी दिए । ‘उहाँको पहिलो पटक पीसीआर रिपोर्ट इरर आयो । पछि पुनः टेष्ट गर्न पठाउँदा रिपोर्ट ढिलो निस्कियो । पीसीआर रिपोर्ट पर्खिराख्दा ढिलो हुँने भएपछि अप्रेशन गरेर बच्चा निकाल्यौं,’ डा.विश्वकर्माले संगालोखबरसँग भने, ‘अप्रेशन पछि रिपोर्ट आउँदा त सबै झस्कियौं । पीसीआर त पोजिटिभ पो आएछ ।’
जिल्ला अस्पतालका डा.मनिसप्रसाद शाह नेतृत्वको चिकित्सकको टोलीले उनको अप्रेशन गरेको हो । अप्रेशनमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी अहिले क्वारेनटाइनमा रहेको अस्पतालले जनाएको छ । अप्रेशन अघि देखि नै उनलाई खोकी र झाडापखालाको समस्या थियो । सुत्केरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनलाई औद्योगिक ग्रामस्थित आइसोलेशनमा राखिएको छ । आमामा संक्रमण पुष्टि भएपछि बच्चा र आमालाई आइसोलेशनमै वेग्ला–वेग्लै राखिएको छ ।
बच्चाको हेरचारका लागि आइसोलेशनमा वुवा पनि सँगै बसेका छन् । पीसीआर रिपोर्ट आउँनु अघिसम्म सँगै रहेका उनको पनि मंगलबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि राखिएको छ । उनको रिपोर्ट आउँन वाँकी छ ।