पत्रपत्रिका खबर

काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो। १ सय ८७ जनाको ज्यान गएको थियो। ५ हजार ४ सय ५५ जना निको भएका थिए। मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ। मृतकको संख्या ५ हजार १ पुगेको छ। ३ लाख ३९ हजार ७ सय ५६ जना निको भएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निषेधाज्ञामा कडाइका कारण संक्रमण र मृत्यु हुनेको संख्या घट्न थालेको बताए। ‘एक सातायताको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमण र मृत्युदर घट्न थालेको छ’, प्रवक्ता डा. गौतमले भने, ‘सहरी क्षेत्रमा निषेधाज्ञा गरेका कारण संक्रमित हुने र मृत्यु हुनेको दर घट्न थालेको छ।’

ओम अस्पतालका डा. परशु घिमिरेले भने कोरोनाको ग्राफ घट्यो भनेर अहिले नै ढुक्क हुन नसकिने बताए। ‘म संक्रमित र मृत्यु हुनेको संख्या घट्यो भन्ने मान्न तयार छैन। जो मानिस घर वा अस्पताल आउनुभन्दा अगाडि नै बितेका छन्। उनीहरूको गणितीय संख्या अहिले आइरहेको संख्यामा गणना हुँदैन’, डा. घिमिरेले भने, ‘जसलाई लक्षणहरू देखिएका छन्। उहाँहरू मात्रै परीक्षणका लागि आइरहनुभएको छ।’

डा. घिमिरेले अहिले पनि नेपाल कोरोना संक्रमणको ‘पिक’मै रहेको दाबी गरे। अहिले सार्वजनिक भइरहेको तथ्यांकभन्दा पनि अझै बढ्ने उनको ठम्याइ छ। ‘सहर छाडेर गाउँ जानेहरूको संख्या दिनदिनै बढिरहेको छ। सामान्यतः कोरोना संक्रमण पाँचदेखि १४ दिनभित्र देखिने भएकाले संक्रमितको संख्या अझै बढ्न सक्ने देखिन्छ’, उनले भने।

कोरोना संक्रमित ८५ प्रतिशतमा लक्षण नदेखिने र अवस्था सामान्य नै रहने भएकाले अधिकांशले परीक्षण नगर्ने डा. प्रकाश बुढाथोकीको भनाइ छ। ‘कोरोना संक्रमण भएका ८५ प्रतिशतमा लक्षण देखिँदैन। उनीहरूको अवस्था सामान्य नै हुन्छ’, नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रहेका डा. बुढाथोकीले भने, ‘सामान्य लक्षण भएकाहरूले परीक्षण नै गर्दैनन्।’

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो एक साताको तथ्यांक केलाउँदा संक्रमणदरमा ह्वात्तै गिरावट नआए पनि घट्ने क्रम भने सुरु भएको बताए। उनका अनुसार बागमती र गण्डकी प्रदेशमा संक्रमण र मृत्यु हुने दर घटेको छ भने अरु प्रदेशमा बढिरहेको छ। ‘हामीले सबै प्रदेश र जिल्लाको तथ्यांक केलाएका छौं। केही दिनयता संक्रमण र मृत्युदर घट्न थालेको छ’, उनले भने, ‘सहरमा संक्रमण कम भयो भने गाउँमा बढे पनि त्यसले समग्र तथ्यांकमा खासै फरक पार्दैन। तर, मृत्यु हुनेको संख्या भने घट्न केही समय लाग्छ।’

उनका अनुसार १ हजार ३ सय जना आईसीयू र ३ सय जना भेन्टिलेटरमा उपचाररत छन्। ‘विगतको तथ्यांक हेर्दा भेन्टिलेटरमा भएकामध्ये तीन चौथाइले ज्यान गुमाएको पाइएकाले मृत्यु हुने संख्या घट्न भने केही समय लाग्नेछ’, उनले भने।

डा. घिमिरेले निषेधाज्ञालाई अझै कडा र चुस्त बनाउनुपर्ने बताए। ‘लकडाउन उपचार होइन। यसले ज्यान बचाउँदा पनि बचाउँदैन’, उनले भने, ‘यसले संक्रमितको संख्या घटाउन सहयोग पुर्‍याउँछ। त्यसैले निषेधाज्ञालाई पूर्ण पालना भने गर्नै पर्छ।’

प्रवक्ता डा. गौतमका अनुसार मन्त्रालयले भनेका बेला स्कुल कलेज बन्द गर्ने र निषेधाज्ञा लगाउन पाएको भए अहिलेजस्तो विकराल अवस्था आउँदैनथ्यो। ‘हामीले भनेको बेलामा निषेधाज्ञा लगाउन पाएको भए अहिलेजस्तो विकराल अवस्था आउने थिएन’, उनले भने, ‘ढिलै भए पनि अधिकांश जिल्लामा लकडाउन गरिएको छ। जसले गर्दा संक्रमण दर पनि घट्न थालेको छ।’ निषेधाज्ञा कति लम्बिन्छ अहिले नै भन्न नसकिने उनले बताए।

अस्पतालमा बेडसहित अक्सिजन अभाव चर्को रूपमा देखिएको छ। डा. घिमिरेले भने अस्पतालमा बेडको कमी नरहेको दाबी गरे। ‘अहिले अस्पतालमा बेडको समस्या होइन। बेडमा राखेर उपचार गर्न सक्ने क्षमता र उनीहरूलाई दिनुपर्ने अक्सिजनको कमी छ’, उनले भने, ‘सरकारले अक्सिजन उपलब्ध गराइदिने हो भने उपचारमा कुनै समस्या छैन।’

मन्त्रालयका प्रवक्ता डा. गौतमले बिरामीले सहज रूपमा उपचार पाउन भन्नका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको बताए। – आजको अन्नपूर्ण पोष्टमा यो खबर छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!