- रबिन कटेल/संगालोखबर

धनकुटा । कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिन थालेपछि धनकुटामा प्रहरीले निषेधाज्ञामा कडाई गरेको छ । निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमित थपिने क्रम निकै बढेपछि प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेहरुमाथि ‘एक्सन’ लिन थालेको हो । निषेधाज्ञा नटेरेर अनावश्यक हिडडुल गर्ने, सवारी कुदाउँने र बजार पसल खोल्नेहरुलाई प्रहरीले ‘अनदस्पोट’ कारबाही गर्न थालेको छ ।

Advertisement

निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाउँने र प्रमुख जिल्ला अधिकारीले एक सय रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद सजाय वा दुवै सजाय गर्नसक्ने प्रावधान छ । तर, संक्रमण फैलिरहेको बेला त्यो प्रकृया झन्जटिलो हुँने भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गरी जरिवाना असुल गर्न प्रहरीलाई आदेश दिएका छन् । जिल्लामा आइतवारसम्म निषेधाज्ञा उल्लंघन गर्ने ३८ जनालाई जरिवाना तिराईएको र ७६१ जनालाई पुनः निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा छोडिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए । ‘निषेधाज्ञा उल्लंघन गर्नेलाई हामीले रोकेर केही समय होल्ड गरी सम्झाई बुझाई गछौं । अटेरी गर्नेलाई त्यहीँ रसिद काटेर जरिवाना तिराउँन थालेका छौं,’ एसपी अधिकारीले संगालोखबरसँग भने ।

धनकुटा बजारमा निषेधाज्ञा उल्लंघन गरेर हिडडुल गर्ने पाँच जनालाई गत बिहिबार प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । उनीहरुलाई प्रशासनले जनही एक/एक सय जरिवाना तिराएर छोडेको छ । त्यसपछि शनिवारबाट भने निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले ठाउँको ठाउँ जरिवाना तिराउँन थालेको हो । प्रहरीका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा उल्लंघन गर्ने १५ जनालाई शनिवार जरिवाना असुल गरिएको छ । ७ जनालाई चेतावनी दिएर छोडिएको छ ।

धनकुटा बजार, हिले र भेडेटारमा निषेधाज्ञा उल्लंघन गर्ने १८ जनालाई प्रहरीले आइतवार जनही एक/एक सयका दरले जरिवाना तिराएको छ । बजारमा अनावश्यक हिडडुल गर्ने, मास्क नलगाउँने, बिनाअनुमति सवारी कुदाउँने र पसल खोल्नेहरु कारबाहीमा परेका हुन् । जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा उल्लंघन गर्ने १४७ वटा सवारी साधनका चालक र ६१४ जना व्यक्तिलाई सडकमै केही समय उभ्याएर पुनः गल्ति नदोहोर्याउँने सर्तमा चेतावनी दिएर छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले धनकुटा जिल्लाभर जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!