विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोभिड समन्वय कोष स्थापना गरेको छ । आजदेखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्य समितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ ।
कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले जानकारी दिए । उनका अनुसार कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गरिनेछ । कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरी समिति गठन गरिएको महासंघले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि अध्यक्ष खनालको संयोजकत्वमा कार्य ‘र्यापिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । र्यापिड रेस्पोन्स टिममा सल्लाहकार खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव अधिकारी, कोषाध्यक्ष राईसहित कार्य समिति सदस्यहरुलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको विज्ञप्तिमा उल्लेख छ ।
समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रवन्ध मिलाउनका लागि प्रदेश १ सरकार र स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमण भई आईसोलेशन केन्द्र र होम आईसोलेशनमा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाभको कामना गर्दै दैनिक स्थलगत समाचार संकलन/सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावस्यक कामबाहेक घरबाटै समाचार संकलन तथा सम्प्रेषणका लागि महासंघले आग्रहसमेत गरेको छ ।