संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि धनकुटाको पाख्रीबास नगरक्षेत्रमा कडाई गरिएको छ । पाख्रीबास नगरपालिका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नगर क्षेत्रमा आजबाटै कडाई गर्ने निर्णय गरेको हो ।

Advertisement

पाख्रीबास नगर क्षेत्रमा पनि संक्रमण फैलदै गएकाले आजकै मितिदेखि जेठ ४ गतेसम्मका लागि कडाई गर्ने निर्णय गरिएको नगर प्रमुख बिर्षबहादुर राईले जानकारी दिए । ‘कोरोना बढ्दै गएकाले यसलाई रोकथामका लागि तत्काल ६ दिनका लागि कडाई गर्ने निर्णय गरेका छौं, आवश्यकता अनुसार यसलाई थप गरिनेछ,’ नगर प्रमुख राईले संगालोखबरसँग भने ।

उनका अनुसार सो अवधिमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल बन्द हुँनेछन् । खाद्यान्न, तरकारी र दुध डेरीलाई बिहान ८ बजेसम्म खोल्न दिइनेछ । नगरक्षेत्रभित्र सवारी साधन आवतजावतमा रोक लगाइएको छ । खाद्य सामाग्री र तरकारी ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । पाख्रीबास नगर क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधनलाई भने रोकिने छैन । तर, लोकमार्गमा गुड्ने सवारी साधनले नगर क्षेत्रमा यात्रु हाल्न वा ओराल्न पाउँने छैनन् । सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्नेछन् । बैंक तथा वित्तिय सस्था दिउँसो १ बजेसम्म मात्र खोल्न पाइनेछ ।

यता, नगर क्षेत्रभित्र हाटबजार, मनोरञ्जनस्थल, सार्वजनिक तथा निजी क्याम्पस तथा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । विदेशबाट वा अन्यत्रबाट पाख्रीबास नगरमा प्रवेश गर्नेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाख्रीवास नगरको कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा यसअघि नै बन्द गरिसकिएको थियो । नगर क्षेत्रमा संक्रमण थप बढ्दै गएपछि सीसीएमसीको बैठकले नगरक्षेत्र भर नै थप कडाई गर्ने निर्णय लिएको हो । पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राईले बैठक लगत्तै सूचना जारी गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

पाख्रीबास नगरक्षेत्रमा दोस्रो चरणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जोखिम बढ्दै गएकाले संक्रमण थप फैलन नदिनका लागि कडाई गरिएको नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!