धनकुटा । धनकुटाको पाख्रीवासबाट नियन्त्रित औषधिसहित दुई युवा पक्राउ परेका छन् । पाख्रीवास नगरपालिका–३ स्थित महावोधी पेट्रोल पम्पमा कार्यरत स्थानीय १९ बर्षीय अशोक आले र २३ बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु पेट्रोल पम्पमा काम गर्ने र त्यही बस्ने गरेका थिए । सुराकीका आधारमा मंगलबार साँझ उनीहरुको कोठा खानतलासी गर्दा ७३५ चक्की नियन्त्रित औषधि बरामद भएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । उनीहरुको कोठाबाट स्पासपेन ५९६ चक्की, ट्यामाडोल ११६ चक्की र एन्टीकफ २३ चक्की बरामद भएको छ । ‘यो औषधि नै हो । तर, यसलाई डाक्टरको सल्लाह अनुसार मात्र सेवन गर्न मिल्छ,’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘तर, युवाहरुले यो औषधिलाई ओभरडोज लगाएर लागुऔषधकै रुपमा प्रयोग गर्ने गरेका छन् । त्यही भएर पक्रिएका हौं ।’
पक्राउ परेका युवालाई कारबाहीका लागि प्रहरीले औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको छ । प्रहरीले केही दिन अघि पनि लागुऔषधसहित धनकुटा बजारबाट तीन युवालाई पक्राउ गरेको छ । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । त्यसअघि पक्राउ परेका तीन युवा भने लागुऔषध मुद्दामा दोषी ठहर भएर अदालतको आदेश अनुसार जेल चलान भएका छन् ।