धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित विश्रान्तिमा आधुनिक शवदाह भट्टी (फार्नेस) मा मृतकको लास जलाउँन थालिएको छ । यसअघि तमोर नदी किनारमा दाउराले लास जलाउँने गरिएको भएपनि अहिले डिजेल प्लान्टमा लास जलाउँन थालिएको हो ।
पहिलो पटक गत मंगलबार हिलेका एक व्यक्तिको लास सोही ल्यान्टमा जलाइएको छ । परीक्षण सफल भएकाले अब दाउराको सट्टा डिजेल प्लान्टमै शव जलाउँन थालिएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका मुख्य व्यवस्थापक जनार्दन घिमिरेले बताए । ‘लास जलाउँन दाउरा पाउँनै मुस्किल हुँन थाल्यो, पहिले–पहिले नदीले दाउरा बगाएर धेरै ल्याउँथ्यो, त्यो पनि हिजो आज कम भएपछि विकल्पको रुपमा फार्नेस प्लान्ट बनाएका हौं,’ घिमिरेले संगालोखबरसँग भने, ‘फार्नेस प्लान्टमा डिजेलबाट लास जलाइने हुँनाले दाउरा चाहिदैन । यसले दाउरा खोज्नुपर्ने झन्जट हटाउँछ र बन फडानीको समस्या पनि कम गर्छ ।’
धनकुटा नगरपालिका–९ का वडाध्यक्ष सन्दिप रायमाझीको पहलमा प्रदेश सरकारको २५ लाख बजेटमार्फत आधुनिक शवदाह भट्टी निर्माण गरिएको हो । त्यहाँ डिजेल प्लाण्ट राखेर जेनेरेटरको माध्यमबाट मोटर चलाई पंखामार्फत हावाले फुकेर आगो लगाई लास जलाइन्छ । सो भट्टीमा एउटा शव जलाउँदा ३० देखि ४० लिटरसम्म डिजेल खपत हुन्छ । करिब ४५ मिनेटमा शव जलिसक्छ ।
मन्दिर व्यवस्थापन समितिको निर्णयअनुसार सो भट्टीमा केही दिन निःशुल्क शव जलाउँने व्यवस्था मिलाइएको छ । त्यसपछि एउटा लास जलाउँन ५ हजार रुपैयाँ तोकिएको छ । आगामी ३ महिनाका लागि भने २० प्रतिशत छुट गरेर ४ हजार मात्र लिने निर्णय भएको छ । दाउराले जलाउँदा पनि दाउराको थाकका आधारमा एक थाक दाउरालाई ४ हजार लिने गरिएको थियो । कतिपय लास जलाउँन दुई थाकसम्म दाउरा लाग्ने हुँदा मृतकका परिवारले लास जलाउँनकै लागि ८ हजारसम्म खर्च गर्नुपर्ने वाध्यता थियो ।
पैसा नभएका विपन्न व्यक्तिको लास जलाउँनका लागि मलामीहरुले स्वऐच्छिक रकम दान गर्ने गरी खुत्रुकेको व्यवस्था पनि गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक घिमिरेले जानकारी दिए । धनकुटा सदरमुकामसहित आसपास क्षेत्रका व्यक्तिको मृत्यु हुँदा लास जलाउँन मुलघाट लग्ने गरिन्छ । मुलघाटमा बार्षिक करिब ४ सय हाराहारी लास जलाइदै आएको छ ।