धनकुटा । धनकुटामा सोमबार साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घरमै विद्युतको लाइनबाट करेन्ट लाग्दा धनकुटा नगरपालिका–५ वालमन्दिरका राजु श्रेष्ठका १० बर्षीय छोरा सन्जोक श्रेष्ठको मृत्यु भएको हो ।
साँझ करिब ६ः३० बजे विद्युतको लाइनबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते बालकलाई तत्काल जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिब ८ बजे डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । ‘केही धुकधुकी मात्र रहेको अवस्थामा जिल्ला अस्पताल ल्याइएको थियो ।’ डा. पुजन विश्वकर्माले संगालोखबरसँग भने, ‘हामीले बचाउँन निकै प्रयास गर्यौ, तर सम्भव भएन ।’
करेन्ट लाग्दा उनी उछिट्टीएर पछारिएका थिए । उनको देब्रे हातमा चोट देखिएको छ । के गर्ने क्रममा कसरी करेन्ट लाग्यो भन्ने खुल्न वाँकी छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।