धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि आवश्यक व्यवस्था गर्न गठित समन्वय समितिको आइतवार बसेको बैठकले अत्यावश्यक बाहेकका सेवा एक साता बन्द गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरीले आइतवार सूचना जारी गरेर ७ प्रकारका अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाएका छन् ।
सो अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्रवाट प्रवाह हुने स्वास्थ्य सेवा रोकिने छैनन् । त्यस्तै, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, नगर प्रहरी, खानेपानी, अति जरुरी कामको लागि सवारी पास सिफारिस र विपद् व्यवस्थापनको काम पनि सुचारु हुनेछ । वाँकी सबै सेवा एक साता बन्द हुनेछन् ।
नगरपालिकाले संक्रमण फैलनबाट जोगिनका लागि भिडभाड, भोजभतेर, बैठक, गोष्ठि, चाडपर्व मनाउँने जस्ता जमघट हुँने गतिविधि नगर्न नगरबासीलाई आग्रह गरेको छ । घर बाहिर निस्किदा अनिवार्य मास्क लगाउँन, सामाजिक दुरी कायम गर्न र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी कोरोना संक्रमणबाट जोगिन महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले सबै नगरबासीमा आग्रह गरेका छन् ।