विराटनगर । धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा धनकुटा नगरपालिका–८ टेकुनालाकी कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको हो ।
बैशाख २१ गते नोबेल अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले संगालोखबरलाई जानकारी दिए । ‘कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको कोभिड वार्डमा उहाँको उपचार भइरहेको थियो । उपचारकै क्रममा दिउँसो मृत्यु भएको हो,’ दाहालले संगालोखबरसँग भने ।
नोबेल अस्पतालको रेकर्डमा उनको ठेगाना मारेककटहरे–२ धनकुटा उल्लेख छ । उनी विवाह गरेर धनकुटाको टेकुनाला आएको बताइएको छ । ७ दिनको सुत्केरी अवस्थामा उनी धनकुटा जिल्ला अस्पताल भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो गंभीर लक्षण देखिएपछि उनलाई धनकुटा अस्पतालले रेफर गरेर नोबेल पठाएको हो । नोबेलमै पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
संक्रमित सुत्केरी महिलामा मुटुको समस्यासमेत थियो । अहिले मृतकको शवलाई धनकुटा ल्याइदै गरेको बताइएको छ । योसँगै कोरोना संक्रमित धनकुटाका मृतकको संख्या १३ पुगेको छ भने धनकुटामा दोस्रो चरणमा संक्रमित हुँनेको संख्या ७५ पुगेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।
यसैबीच धनकुटाकी कोरोना संक्रमित सुत्केरीको मृत्युसँगै नोबेलमा आज मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि आजै नोबेलमा १ महिला र ५ पुरुषको मृत्यु भएको थियो ।