धनकुटा । कोरोना संक्रमण रोकथामका लागि धनकुटा बजारमा आइतवारदेखि निःशुल्क मास्क वितरण गर्न थालिएको छ । परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डाइग्नोस्टीक सेन्टरसँगको सहकार्यमा पूर्व प्रहरी संस्थाले मास्क वितरण थालेको हो ।
मदनचौकमा डेस्क स्थापना गरेर निःशुल्क मास्क वितरण भइरहेको छ । आयोजक संस्थाका प्रतिनिधि र सुभाष मेडिकलका स्वास्थ्यकर्मीहरुले बजारमा हिड्नेहरुका हातमा सेनिटाइजर छर्किएर मास्क प्रदान गर्ने गरेका छन् । आगामी बिहिबारसम्म चार दिन मास्क वितरण गरिने पूर्व प्रहरी संस्थाका अध्यक्ष योगेन्द्र कार्कीले बताए ।
कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि धनकुटा नगर क्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेर अति आवश्यक काममा बाहेक हिडडुलमा रोक लगाइएको छ । खाद्यान्न, फलफुल, तरकारी, माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थ, ग्याँस लगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्रीका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र अपरान्ह ४ बजेदेखि वेलुका ६ बजेसम्म खोल्न दिइएको छ । निषेधाज्ञा खुकुलो पारिएको बिहान र बेलुकाको समयमा मदन चौकबाट मास्क वितरण गर्ने गरिएको छ ।
कतिपय व्यक्तिले मास्क नलगाई हिड्ने र कसैले एउटै मास्क धेरै दिनसम्म लगाइराख्ने गरेको पाइएकाले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि मास्क वितरण गरिएको सुभाष मेडिकलका प्रवन्ध निर्देशक भेषराज कटेलले जानकारी दिए ।