- पत्रपत्रिका खबर

विराटनगर । मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो।

Advertisement

रेम्डेसिभिर गम्भीर प्रकृतिका र कडा लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचारमा निक्कै प्रभावकारी मानिएको औषधि हो। तर गिरोहले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेभल लगाएर बिक्री गर्ने गरेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

उनका अनुसार एन्टिबायोटिक र रेम्डेसिभिरको बोतलको साइज (आकार) एउटै हुन्छ। त्यसको फाइदा उठाउँदै गिरोहले स्टिकर लगाएर रेम्डेसिभिरसँग ठ्याक्कै मिल्ने गरी तयार पारेर बिक्री गर्दै जीवनमरणको दोसाँधमा छटपटाइरहेका संक्रमितको जीवनलाई थप जोखिममा पार्ने काम गरिरहेको खड्काले बताए। उनका अनुसार नयाँ लेबल लगाएपछि एन्टिबायोटिकका बोतल पनि रेम्डेसिभिरजस्तै देखिन्छ।

प्रहरीको लामो मिहिनेतपछि नक्कली रेम्डेसिभिर तयार पारेर बेच्ने गिरोहका दुईजना विराटनगरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१० का २६ वर्षीय सोनु आलम र विराटनगर-१६ का २३ वर्षीय श्रवणकुमार यादव रहेका छन्। एसपी खड्काका अनुसार विराटनगर-४ स्थित नोबेल शिक्षण अस्पतालनजिक आलमको साथी फार्मेसी नामक औषधि पसल छ। यादव फार्मेसीका कामदार हुन्।

आलमले लेबल लगाएर तयार पारेको नक्कली रेम्डेसिभिर यादवले फार्मेसीबाट बिरामीका लागि बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। अहिले विराटनगरमा रेम्डेसिभिरको अभाव छ। कोरोना महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरले रेम्डेसिभिर अभावको सामना गरिरहेको औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष एवं प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए। उनका अनुसार नेपालमा अभाव भएपछि भारतबाट अवैध रुपमा ल्याएर कालोबजारी गर्दै अत्याधिक धेरै मूल्य लिएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ।

कालोबजारी गर्ने गिरोह खोज्दै हिँडेको प्रहरी नक्कली रेम्डेसिभिरको कारोबारीसम्म पुग्न सफल भएको हो। ‘वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर बिक्री गर्ने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘यो गिरोहले नक्कली रेम्डेसिभिरलाई प्रति भायल न्यूनतम आठ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको देखिन्छ।’ नक्कली स्टिकर भने भारतको पटनाबाट ल्याउने गरेको पाइएको छ। यो गिरोहको सञ्जाल विराटनगरमा ठूलै रहेको पाइएको उनको भनाइ छ।

‘विराटनगरमा ठूला र नाम चलेका फार्मेसीबाट कोरोना संक्रमितको ज्याननै जोखिममा पार्ने गरि नक्कली रेम्डेसिभिरको कारोबार भइरहेको सूचना आएको छ,’ उनले भने, ‘थप बुझेर यथार्थ खुलेपछि नियन्त्रणमा लिनका लागि आवश्यक अनुसन्धान भइरहेको छ।’

खड्काले पक्राउ परेको गिरोहले व्यक्तिलाई मात्रै कि संस्थालाई पनि नक्कली रेम्डेसिभिर बिक्री गरेको छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाए। उनका अनुसार विराटनगरमा अभाव हुन थालेपछि ‘स्टासेफ’ नामक एन्टिबायोटिकको बट्टामा नक्कली लेभल लगाएर सक्कली रेम्डेसिभिरजस्तै बनाइ बिक्री गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

प्रहरीका अनुसार होटल भाडामा लिएर गिरोहले यो धन्दा चलाइरहेको पाइएको छ। यो गिरोहले विराटनगरको होटल भिन्तुनामा कोठा भाडामा लिएर भण्डारण गरेको नक्कली रेम्डेसिभिर पनि प्रहरीले बरामद गरेको छ। औषधि व्यवसायी संघका उपाध्यक्ष ढकालका अनुसार ‘स्टासेफ’ ज्वरो आँउदा र छात्ती दुख्दा प्रयोग हुने औषधि हो।

‘स्टासेफ’को खुद्रा बजार मूल्य ९० रुपैयाँ पर्छ। ९० रुपैयाँको औषधिलाई नक्कली रेम्डेसिभिरका रुपमा विकास गर्दै आठ हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइएको ढकालको भनाइ छ।

प्रहरी स्रोतका अनुसार नक्कली रेम्डेसिभिरको कारोबार एजेन्टमार्फत भइरहेको हुनसक्ने अनुमान छ। आलमले एजेन्टलाई आठ हजार रुपैयाँ लिएर नक्कली रेम्डेसिभिर दिने गरेको र एजेन्टले भने २५ हजार रुपैयाँसम्मा बिक्री गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ। प्रहरीले व्यवसायीका रुपमा चिनिएर औषधिको कारोबार गर्ने ती एजेन्टको पनि खोजी तीव्र पारेको छ। आलमले नक्कली रेम्डेसिभिर बनाउन लाई विराटनगरमा औषधिको होलसेल कारोबार गरिरहेको गणेश ड्रक्स हाउसदेखि खरिद गरेर ‘स्टासेफ’ लैजाने गरेको पाइएको प्रहरीको भनाइ छ।

कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित बनिरहेको भारतमा दुई हजार आठ सय देखि चार हजार पाँच सय भारतीय रुपैयाँसम्ममा पाइने रेम्डेसिभिर विराटनगरमा अवैध तरिकाले ल्याएर २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको जानकारी औषधि व्यवसायीले दिएका छन्। यसअघिदेखि नै रेम्डेसिभिर इन्जेक्सन तस्करी भएर विराटनगर आउने गरेको थियो। खरिद गरेकोभन्दा तीन गुणाबढी मूल्यमा नेपालमा ल्याएर कालोबजारी गरी बिक्री गर्न सकिने भएकाले रेम्डेसिभिरको तस्करी हुने गरेको हो। प्रहरीले कडाइ गरेपछि गिरोहले नक्कली बनाएर बिक्री गर्ने धन्दा सुरु भएको पाइएको एसपी खड्काले बताए।

यसअघि फार्मेसीका कामदार रहेका आलमले पछि आफै फार्मेसी चलाएर बसेको खुलेको छ। यसअघि गत मंसिर ८ गते विराटनगर–१३ का ३६ वर्षीय नरेश यादवको घरमा प्रहरीले छापा हान्दा तस्करीको औषधि बरामद भएको थियो। त्यतिबेला १० भायल रेम्डेसिभिर पनि बरामद भएपछि तस्करीको विषय बाहिर आएको हो।

यादवलाई पक्राउ गरेर कारबाहीका लागि प्रहरीले औषधि व्यवस्था विभाग कार्यालय विराटनगरमा बुझाएको थियो। तर राजनीतिकदेखि लिएर सबैतिरबाट दबाब आएपछि हाजिर जमानीमा विभागले उनलाई छाडेको स्रोतको भनाइ छ। विभागले प्रभावकारी ढंगले कारबाही अघि नबढाएकै कारण कोरोना महामारीमा औषधिमा विकृति बढेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।

कोरोना संक्रमित गम्भीर हुँदै गएपछि चिकित्सकले आफन्तलाई रेम्डेसिभिरको जोहो गर्न लगाउने गरेका छन्। त्यतिबेला नपाउँदा संक्रमितका आफन्तले कालोबजारी गर्ने औषधि पसलसम्म पुग्नुपर्ने बाध्यता रहेको एक प्रहरी अधिकारीले बताए। चिकित्सकले भने अनुसारका व्यक्तिलाई सम्पर्क गर्दा महँगो मूल्य माग्ने गरेका छन्। तर धेरै बार्गेनिङ गरेपछि केही कम मूल्यमा दिने गरिएको संक्रमितका एक आफन्तले बताए। उनका अनुसार एक भायल रेम्डेसिभिर १५ देखि २५ हजार रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था छ।

औषधि व्यवसायी संघले रेम्डेसिभिर लगायतमा भइरहेको विक्री रोकेर ‘लाइफ सेभिङ’ औषधिको सहज आपूर्तिका लागि सरकारसँग माग गरेको छ। संघका उपाध्यक्ष एवं प्रवक्ता ढकालका अनुसार सरकारले सीमित आयातकर्तालाई मात्रै आयातको अनुमति दिँदा मुलुकले अहिले रेम्डेसिभिरको चरम अभावको सामाना गर्नु परिरहेको छ।

पक्राउ परेका यादव खैरो हेरोइनका फरार प्रतिवादी
नक्कली रेम्डेसिभिर प्रकरणमा पक्राउ परेकामध्ये यादव लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)का फरार प्रतिवादी रहेको खुलेको छ। सुरुमा प्रहरीले फार्मेसी सञ्चालक आलमलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ गरेर अनुसन्धान थालेपछि उनले दिएको सूचनाका आधारमा शुक्रबार यादव पक्राउ परेका हुन्।

पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेपछि लागुऔषधमा उनको पुरानो संलग्नता बाहिर आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। राईका अनुसार यसअघि २०७७ साल कात्तिक २५ गते विराटनगरको होटल रातो भालोबाट १० ग्राम ब्राउन सुगर बरामद भएको थियो।

त्यस ठाउँबाट यादवको सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परे पनि उनी भने फरार रहेको राईले बताए। तर अहिले नक्कली रेम्डेसिभिर काण्डमा उनी समातिएका हुन्। पक्राउ परेकामध्ये आलमलाई भने कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

यादवविरुद्ध भने लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी काम अघि बढाइएको जानकारी राईले दिए। लागुऔषध मुद्दाको अनुसन्धान सकिएपछि उनीविरुद्ध प्रहरीले नक्कली रेम्डेसिभिर काण्डमा कालोबजार ऐनअन्तर्गत पनि कारबाही अघि बढाउने भएको छ। – किशोर बुढाथोकीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!