विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका छन् । कोरोना संक्रमितहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने मेयर पराजुलीले बताए ।
शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन् । “तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा हाम्रो सचिवालयमा सम्पर्क गर्न सकिने छ । यो संकटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं” विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले प्रयोग गर्दै आएको बा १५ च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।