धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ । पाख्रीबास नगरपालिकाको आयोजनामा बिहिबार एक कार्यक्रमकावीच प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन् ।
सांसद राईकै पहलमा पाख्रीबास-७ राम्चेडाँडामा १ सय १७ रोपनी जग्गामा औद्योगिकग्राम निमार्ण गर्न लागिएकाे हो । कार्यक्रममा बोल्दै सांसद राईले देशलाई आर्थिक रुपमा सम्वृद्ध बनाउन उद्योग धन्दा कलकारखाना खोल्न आवश्यक रहेको बताए । बेरोजगार युवाहरुलाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निमार्ण गरिरहेको भन्दै उनले सरकारकाे नीति अनुसार नै पाख्रीबास नगरपालिकामा पनि औद्योगिक ग्राम निमार्ण गर्न लागिएको बताए ।
कार्यक्रममा पाख्रीवास नगरपालिकाका प्रमुख वृर्षबहादुर राईले औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड बराबरको टेण्डर खुलेको जानकारी दिँदै यसबाट भवन, बाटो निर्माणको काम गरिने बताए । औद्योगिक ग्रामको डीपीआर तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उनको भनाई छ ।
स्थानीय स्तरका श्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी रोजगार सिर्जना गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने, उत्पादन र उत्पादकत्व अभिवृद्धीका लागि ग्राम सञ्चालन गर्न लागिएको हो ।