विराटनगर । प्रदेश १ को राजधानी विराटनगरस्थित रानी नाकाबाट पछिल्लो २१ दिनमा कूल ४८ जना कोरोना संक्रमित नेपाल भित्रिएका छन् । बैशाख १ गतदेखि २१ गतेसम्मको अवधिमा रानी नाका हुँदै ३७ महिला र ११ पुरुष नेपाल भित्रिएका हुन् ।
सो अवधिमा रानी नाकाबाट नेपाल प्रवेश गर्ने १ हजार ४ जनाको एन्टिजेम परीक्षण हुँदा ४८ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु पठनपाठन र रोजगारीको शिलशिलामा भारत बसेर फर्किएकाहरु हुन् । विशेषगरी भारतको दिल्ली, बेङ्लोर, लुधियाना र कलकत्ता लगायतका शहरबाट फर्किएका विद्यार्थी तथा कामदारहरुमा संक्रमणको दर उच्च देखिएको विराटनगरको रानीस्थित हेल्थ डेस्कका मेडिकल अफिसर कमलकिशोर यादवले बताए ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणका कारण मृत्युदर उच्च भएसँगै भारत गएका नेपालीहरु धमाधम नेपाल फर्किन थालेका छन् । यसले नेपालतर्फ पनि संक्रमणकोे जोखिम बढेको हुँदा महानगरले बोर्डरमै संक्रमितको पहिचान गर्न एन्टिजेन परिक्षण थालेको हो । परीक्षणकोे क्रममा संक्रमण पुष्टि भएकाहरुलाई महानगरले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा १४ दिने होम क्वारेन्टाईन वा आइसोलेशनमा पठाउने गरेको मेडिकल अफिसर यादवको भनाई छ ।
संक्रमितको परीक्षण र पहिचानका लागि विराटनगर महानगरपालिकाले रानीस्थित हेल्थ डेस्कमा भने १ जना हेल्थ असिस्टेन्ट, १ जना मेडिकल अफिसर, ५ जना अनमी र १ जना ल्याब टेक्निसियनसहित १० जना खटाएको छ ।